Toggle Menu

समाचार

APF News
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभई खोज, उद्धार तथा राहत कार्यको बस्तुस्थिती बारे जानकारी लिनुभएको छ । सोही क्रममा उहाँले माननीय गृहमन्त्री सुधन गुरुङसँग बाढी प्रभावित क्षेत्रमा सञ्चालित थप कार्ययोजनाको बारेमा समेत छलफल गर्नुभएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेल बाढी प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको वास्तविक अवस्था, परिचालन र व्यवस्थापनको वस्तुस्थिती बुझ्न नं. १९ गुल्म नुवाकोट पुग्नुभई सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद्मा परेका नागरिकहरुको सेवा, सुरक्षा र उद्धारमा कुनैपनि कसर बाँकी नराखी कार्य गर्न निर्देशन दिनुभएको छ । सोही अवसरमा उहाँले बाढी प्रभावित क्षेत्रमा खटिनु भएका नं. ३ गढिमाई वाहिनी मुख्यालय मकवानपुरका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक किरण बस्नेतबाट सशस्त्र प्रहरी बल नेपालको परिचालन, स्रोत साधनको व्यवस्थापन तथा विशेषज्ञ टोलीबाट भईरहेको खोज तथा उद्धार कार्यको बारेमा जानकारी लिनुभएको थियो । त्यसैगरी महानिरीक्षक पौडेलले नुवाकोट जिल्लाको विदुर नगरपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको हेल्थ क्याम्प तथा सोही नगरपालिका–५ देवीघाटस्थित आयुर्वेदिक स्वास्थ्य केन्द्रमा रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभई सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवा तथा व्यवस्थापनमा प्रभावकारी कार्य गर्न हौसला प्रदान गर्नुभयो । साथै उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको विशेषज्ञ टोलीबाट भईरहेको कामकारवाहीको बारेमा जानकारी लिनुकासाथै डग स्नीफिङ तथा उद्धार टोलीले गरेको कार्यको समेत स्थलगत अनुगमन गर्नुभई सो क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलकासाथ कार्य गर्न निर्देशन दिनुभयो । बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो क्षेत्रका स्थानिय वासिन्दाहरुसँग छलफल गरी त्यस ठाउँको वस्तुस्थितीबारे जानकारी लिनुकासाथै विपद्को कठिन घडीमा पूर्ण सामार्थ्यकासाथ खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिईरहने समेत बताउनुभयो ।

2083-05-14
APF News
रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी महानिरीक्षक

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभई सशस्त्र प्रहरी बल नेपालबाट भएका खोज, उद्धार तथा राहत कार्यको बारेमा जानकारी लिनुभएको छ ।
सोही क्रममा नेपाली सेनाको नम्बर १ सैन्य तालिम केन्द्र पुग्नु भएका माननीय गृहमन्त्री सुधन गुरुङसँग सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाढी प्रभावित क्षेत्रमा संचालन गरिएको खोज, उद्धार तथा राहत लगायतका कार्यको थप कार्ययोजनाको बारेमा समेत छलफल गर्नुभएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेल बाढी प्रभावित क्षेत्रमा भईरहेको खोज तथा उद्धार कार्यको वास्तविक अवस्था, परिचालन र व्यवस्थापनको वस्तुस्थिती बुझ्न सशस्त्र प्रहरी बल नेपाल नं. १९ गुल्म नुवाकोट पुग्नुभई खोज तथा उद्धारमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई विपद्मा परेका नागरिकहरुको सेवा, सुरक्षा र उद्धारमा कुनैपनि कसर बाँकी नराखी कार्य गर्न निर्देशन दिनुभएको छ ।
सोही अवसरमा उहाँले बाढी प्रभावित क्षेत्रमा खटिनु भएका सशस्त्र प्रहरी बल नेपाल नं. ३ गढिमाई वाहिनी मुख्यालय मकवानपुरका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक किरण बस्नेतबाट सशस्त्र प्रहरी बल नेपालको परिचालन, स्रोत साधनको व्यवस्थापन तथा विशेषज्ञ टोलीबाट भईरहेको खोज तथा उद्धार कार्यको बारेमा जानकारी लिनुभएको थियो ।
त्यसैगरी महानिरीक्षक पौडेलले नुवाकोट जिल्लाको विदुर नगरपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालको फिल्ड अस्पताल तथा सोही नगरपालिका–५ देवीघाटस्थित आयुर्वेदिक स्वास्थ्य केन्द्रमा रहेको होल्डिङ सेन्टरको समेत अवलोकन गर्नुभई उक्त स्थानमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्वास्थ्य सेवा तथा व्यवस्थापनमा प्रभावकारी कार्य गर्न हौसला प्रदान गर्नुभयो ।
साथै उक्त क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालको विशेषज्ञ टोलीबाट भईरहेको कामकारवाहीको बारेमा जानकारी लिनुकासाथै डग स्नीफिङ तथा उद्धार टोलीले गरेको कार्यको समेत स्थलगत अनुगमन गर्नुभई सो क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई उच्च मनोवलकासाथ कार्य गर्न निर्देशन दिनुभयो ।
बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो क्षेत्रका स्थानिय वासिन्दाहरुसँग छलफल गरी त्यस ठाउँको वस्तुस्थितीबारे जानकारी लिनुकासाथै विपद्को कठिन घडीमा नेपाल सरकारको पूर्ण सामथ्र्यकासाथ खोज, उद्धार र राहत कार्यलाई निरन्तरता दिईरहने समेत बताउनुभयो ।

2083-05-12
APF News
रसुवा बाढीमा परेकाहरुको उद्धारका लागि सशस्त्र प्रहरीको टोली परिचालन, आपतकालीन राहत तथा उद्धार सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्‍याईदै

रसुवा बाढीमा परेकाहरुको उद्धारको लागि रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।
सो क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालिन राहत तथा उद्धार सामग्रीसहितको  Disaster Relief System -DRS_   कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पुर्‍याउने कार्य समेत भईरहेको छ । साथै अन्य क्षेत्रमा रहेका -DRS_  कन्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।
बाढीमा परी घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन Mass Casualty Vehicles (MCV) सहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
नदी किनारा तथा जोखिमयुक्त स्थानहरुका बस्तीमा सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत साईरन बजाई तथा माईकिङ्ग गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत भनिएको छ । त्यस्तै बाढीमा परेकाहरुको तत्काल उपचारको लागि नेपाल एपीएफ अस्पतालमा वेडहरु समेत खोली राखिएको छ ।  
आपतकालिन उद्धारको लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरुको सुरक्षित उडान तथा अवतरणको लागि ल्याँडिङ जोनहरुको तयार गरिएको छ । त्यस्तै रसुवागढी भन्सार तथा यार्ड प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको प्ढ K9 Sniffer Dogs सहितको टोली खोजी तथा उद्धारको लागि परिचालन भएको छ ।
त्यस्तै नदी किनारा तथा बाढी प्रभावित क्षेत्रहरुमा हराईरहेका नागरिकहरुको लोकेशन पत्ता लगाउन तथा क्षति मुल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । विस्थापित शिविरहरुमा हैजा तथा पानीजन्य रोग फैलन नदिन सशस्त्र प्रहरी बल नेपालले आपतकालीन खानेपानी शुद्धिकरण र औषधि वितरण कार्य शुरु गरेको छ ।
भोटेकोशी तथा त्रिशुली नदिको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्नसक्ने  वा थप बाढी जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षती न्यूनिकरणको लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरुसँग सशस्त्र प्रहरीले निरन्तर समन्वय तथा संवाद र सूचना आदान–प्रदान गरिरहेको छ ।

2083-05-10
APF News
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य उपचार सेवा

सशस्त्र प्रहरी बल नेपालले भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रका ४ हजार ५ सय भन्दा बढी नागरिकको स्वास्थ्य उपचार गरेकोे छ । बाढी प्रभावित क्षेत्रहरुमा भाद्र १० गतेदेखि हेल्थ क्याम्प खडा गरी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको हो । नेपाल एपीएफ अस्पताल बलम्बुबाट खटिएको दक्ष चिकित्सकसहितको टोलीले बाढी प्रभावित क्षेत्रको विभिन्न ठाउँमा हेल्थ क्याम्प खडा गर्नुकासाथै कारागार तथा होल्डिङ सेन्टरमा रहेकाहरुको स्वास्थ्य उपचार गरेको हो । सो अस्पतालबाट विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले रसुवाको जिल्ला अस्पताल धुन्चे र टिमुरे, नुवाकोटको आयुर्वेद चिकित्सालय, व्रिmयापुत्री भवन, केन्द्रीय कारागार नुवाकोट,  सेतीदेवी आधारभूत विद्यालय, क्षेत्रपाल आधारभूत विद्यालय, रणभुवनेश्वरी माध्यमिक विद्यालय, नुवाकोट स्वास्थ्य चौकी लगायतका ठाउँहरुमा हेल्थ क्याम्प सञ्चालन गरेको छ । त्यसैगरी धादिङको गल्छी र काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत हेल्थ क्याम्प खडा गरी सेवा प्रदान गर्दै आईरहेको हो । नुवाकोटस्थित केन्द्रीय कारागार भित्र फैलनसक्ने सम्भावित सरुवा रोग तथा स्वास्थ्य समस्यालाई ध्यानमा राखी सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको टोलीले विशेष स्वास्थ्य परीक्षण गरेको छ । उक्त कारागारमा भाद्र १७ गते १ सय ८५ जना र २४ गते २ सय १७ जना गरी ४ सय २ जना कैदीबन्दीहरुको स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सम्बन्धी आवश्यक परामर्श समेत प्रदान गरेको हो । सशस्त्र प्रहरी बल नेपालको चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले विरामीको उपचारमा मात्र सीमित नरही वातावरणीय स्वच्छता कायम तथा विपद् पश्चात् फैलन सक्ने महामारी नियन्त्रणको लागि नुवाकोटको देवीघाट बजार क्षेत्र, देवीघाट माध्यमिक विद्यालय परिसर र केन्द्रीय कारागार नुवाकोट क्षेत्रमा किटनाशक औषधी छरेको छ । त्यसैगरी नुवाकोटस्थित क्रियापुत्री भवन क्षेत्रमा समेत सरसफाई गरेको छ । नेपाल एपीएफ अस्पतालबाट दक्ष चिकित्सकसहित खटिएको टोलीले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविरमार्फत बालबालिका, वृद्धवृद्धा तथा कैदीबन्दी लगायतलाई स्वास्थ्य उपचार सेवा निरन्तर रुपमा प्रदान गर्दै आईरहेको छ । सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा घाइते भएकाहरुको उद्धार र सहयोगका लागि मास क्याजुअल्टी भेहिकल समेत परिचालन गर्नुकासाथै बाढीमा परी घाइते भएकाहरूको उपचारको व्यवस्था मिलाउन नेपाल एपीएफ अस्पताल र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा रहेको ट्रमा सेन्टर समेत सञ्चालन तथा तयारी अवस्थामा राखेको छ ।

2083-05-10
APF News
सशस्त्र प्रहरी महानिरीक्षक र भारतीय सशस्त्र सीमा बलका उच्च अधिकृतहरु बीच भेटघाट

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल र भारतीय सशस्त्र सीमा बल (एसएसबी)को Internal Security and Strategy Management Course (ISSMC)  का उच्च अधिकृतहरू बीच प्रधान कार्यालय हलचोक स्वयम्भुमा भाद्र ९ गते शिष्टाचार भेटघाट भएको छ । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा सुरक्षा तथा व्यवस्थापन गर्ने कार्यमा  नेपाल–भारत दुवै सुरक्षा निकाय बीचको समन्वय, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ गर्दै लैजानु पर्ने बताउनुहुँदै यस किसिमको समकक्षी सुरक्षा निकायहरु बीच हुने व्यावसायिक भ्रमणले समेत आपसी सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गर्नुभयो । सोही दिन दुवै सुरक्षा निकायका अधिकृतहरुबीच सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीचको सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको उल्लेख  गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले नेपाल–भारत सीमा सुरक्षा र सहयोगका विभिन्न पक्षहरु लगायत सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा भएका उपलब्धि सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो, भने सशस्त्र प्रहरी बल नेपालले ‘शान्ति, सुरक्षा र प्रतिवद्धता’को मूल मन्त्रका साथ सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजस्व संकलनमा सहयोग र आन्तरिक सुरक्षामा निर्वाह गरेको बहुआयामीक भूमिकालाई विशेष बृत्तचित्र मार्फत प्रस्तुत समेत गरिएको थियो । भारतीय सशस्त्र सीमा बलका डिआईजी सञ्जय कुमार शर्माले सन् २००१ बाटै भारतीय सशस्त्र सीमा बल नेपाल-भारत सीमा सुरक्षामा तैनाथ र सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको संयोगको बारेमा उल्लेख गर्नुहुँर्दै सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक कार्यसम्पादनमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा दुई देश बीचको अद्धितीय र ऐतिहासिक सम्बन्धको प्रतीक मानिने खुल्ला सीमानालाई थप सुरक्षित बनाउन सूचना आदान-प्रदान, सीमा अपराध नियन्त्रण र संयुक्त क्षमता अभिबृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

2083-05-09
APF News
सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीचको व्यावसायिक सम्बन्धमा नयाँ आयाम

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा भाद्र ९ गते भारतीय सशस्त्र सीमा बल (एसएसबी)को आन्तरिक सुरक्षा र रणनीति व्यवस्थापन कोर्सका उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितामा एक विशेष व्यावसायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको  छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले स्वागत मन्तव्यका क्रममा सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बीचको सम्बन्ध आपसी विश्वास, पारस्परिक सम्मान र व्यावसायिक सहयोगमा आधारित रहेको चर्चा गर्नुभयो । उहाँले यो भ्रमणले दुई सुरक्षा निकाय बीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुको साथै समकालीन सुरक्षा चुनौतीहरुको सामना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्र बहादुर कार्कीले नेपाल–भारत सीमा सुरक्षा र सहयोगका विभिन्न पक्षहरु लगायत सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त कार्यादेशहरुमा भएका उपलब्धि सम्बन्धमा विस्तृत रुपमा प्रस्तुतीकरण गर्नुभएको थियो, भने सशस्त्र प्रहरी बल नेपालले ‘शान्ति, सुरक्षा र प्रतिवद्धता’को मूल मन्त्रका साथ सीमा सुरक्षा, विपद् व्यवस्थापन, राजश्व संकलनमा सहयोग र आन्तरिक सुरक्षामा निर्वाह गरेको बहुआयामीक भूमिकालाई विशेष बृत्तचित्र मार्फत प्रस्तुत समेत गरिएको थियो । भारतीय सशस्त्र सीमा बलका डिआईजी सञ्जय कुमार शर्माले सन् २००१ बाटै भारतीय सशस्त्र सीमा बल नेपाल भारत सीमा सुरक्षामा तैनाथ र सशस्त्र प्रहरी बल नेपालको स्थापना भएको संयोगको इतिहासलाई स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बल नेपालले व्यावसायिक कार्यसम्पादनमा हासिल गरेको प्रगति प्रशंसनीय रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा दुई देश बीचको अद्धितीय र ऐतिहासिक सम्बन्धको प्रतीक मानिने खुल्ला सीमानालाई थप सुरक्षित बनाउन सूचना आदान–प्रदान, सीमा अपराध नियन्त्रण र संयुक्त क्षमता अभिबृद्धि गर्ने विषयमा छलफल भएको थियो ।

2083-05-09
APF News
मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले साउन २९ गते बिहान सकुशल उद्धार गरेको छ । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो । लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरु उक्त मन्दिरमा अलपत्र परेका थिए । सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली साउन २८ गते राती साढे २ बजे उनीहरुको उद्धारको लागि खटिएको थियो । लगातार वर्षा र सो खोलामा आएको बाढीको कारण उद्धार गर्न कठिनाई भएपछि सो टोलीले पुनः साउन २९ गते बिहान रोप रेस्क्यु विधि अपनाई उनीहरु तीनै जनालाई सकुशल उद्धार गर्न सफल भएको हो । उद्धार गरिएकाहरुमा सोही जिल्लाको पोखरा महानगरपालिका–१८ साराङकोट बस्ने २८ बर्षिय प्रदिप ढकाल, सर्लाही जिल्ला घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३० बर्षिय रेवन्त प्रसाद सिंह र भारत घर भएका ५२ बर्षिय निर्माण गिरी छन् ।

2083-04-29
APF News
संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी काम गर्न सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले संगठनको उद्देश्य र मर्यादालाई केन्द्रमा राखी देश र जनताको सुरक्षा र सेवामा कार्य गर्न सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । साउन २६ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा समादेशक, गणपति र गुल्मपतिका रुपमा खटिई जान लागेका अधिकृतहरुको लागि संचालन गरिएको कमाण्ड अनुशिक्षण तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको हो । उहाँले राष्ट्र र संगठनको प्रतिष्ठा भन्दा माथि कोही पनि नहुने उल्लेख गर्नहुँदै कार्यक्षेत्रमा परिचालित हुँदा गलत नियतकासाथ काम गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कारवाहीको भागिदार बन्ने हुँदा कसैलाई प्रभाव पारी उम्किन्छु भन्ने सोच र विचार आजैका दिनदेखि हटाउन निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सरकारको नतिजामा आधारित शासकीय प्रबन्ध र संगठनको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा परिचालन (द्यक्ष्च्म्)को अवधारणालाई प्राथमिकतामा राखेर कार्यक्षेत्रमा खटिदा आर्थिक अनियमिततामा शुन्य सहनशिलताको नीतिको पूर्ण रुपमा पालना गरी त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो । उहाँले फिल्डमा खटिदा सानो कमजोरी वा लापरवाहीले अपूरणीय घटना तथा ठूलो क्षति पुग्ने बताउनुहँुदै अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै त्यसको सम्भावित प्रभाव, राष्ट्रिय स्तरमा भईरहेका विरोध कार्यक्रमहरु, विपद्, सीमा अपराध र समाजिक संजालको दुरुपयोगबाट उत्पन्न हुनसक्ने खतराहरुप्रति समयमै सजग रहनु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा अपराध नियन्त्रण, लागूऔषध ओसारपसार, मानव बेचविखन, तेस्रो मुलुकका नागरिकहरुको प्रवेश र चोरीतस्करी नियन्त्रण लगायतका कार्यहरुमा खटिदा विशेष चनाखो भई कार्य गर्नुपर्ने बताउनुहुँदै सीमा सुरक्षामा खटिदा सरोकारवाला, सम्बन्धित निकायहरु तथा सीमापार समकक्षीसँग समन्वय गरी परिचालन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले सोसल मिडियाको प्रयोग र त्यसको दुरुपयोगको विषयमा सजग रहि कार्य गर्नुकासाथै मिस ईन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिचका कारण उत्पन्न हुने जोखिमबारे विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले असल नियत र इमान्दारीपूर्वक गरिने सम्पूर्ण कार्यको संगठनले उच्च मुल्यांकन र संरक्षण गर्ने भएको हुँदा कार्यक्षेत्रमा परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुले उच्च मनोवलकासाथ व्यावसायिक ढंगमा कार्य गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम शिक्षालयका समादेशकहरुलाई ‘शिक्षालयलाई उत्कृष्टताको केन्द्र’ बनाउने लक्ष्यकासाथ व्यावसायिकता र प्रविधिमा जोड दिदै व्यावहारिक सीप विकासलाई प्राथमिकतामा राखी स्तरोन्नती गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरुमा फायरफाइटिङ टिम स्ट्यानवाई राख्न र आगलागी जस्ता दुर्घटना नदोहोरिने गरी सतर्कता अपनाउँदै आफ्नो जिम्मेवारी ईलाकामा २४सैँ घण्टा अपरेशनल तत्परता कायम राख्न युनिट कमाण्डरहरुलाई निर्देशन दिनुभयो । यसअघि विभागीय प्रमुखहरु सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले कमाण्डमा जान लाग्नुभएका अधिकृतहरुलाई त्रुटिरहित ढंगबाट सीमा सुरक्षा, अप्रेशनल तथा प्रशासनिक कामकारवाही गर्न निर्देशन दिनुभएको थियो ।

2083-04-26
APF News
शान्ति मिशनको अनुभवलाई देश र जनताको सेवामा लगाउनुहोस्, मिशनमा थिए मलाई थाहा भएन भन्ने कुनै पनि बहाना स्वीकार्य हुदैन–सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति मिशनमा बटुलेका अनुभव र हरेक क्रियाकलापलाई देश र जनताको सेवा र सुरक्षामा समर्पित गर्न निर्देशन दिनुभएको छ । साउन २१ गते संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू.)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको १२औँ डफ्फाको टोलीलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सो कुरा बताउनुभएको हो । नेपालको वर्तमान सुरक्षा परिवेश अत्यन्तै गतिशील र परिवर्तनशील रहेको चर्चा गर्नहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भन्नुभयो–‘म मिशनमा थिएँ, मलाई थाहा भएन भन्ने कुनै पनि बहाना अब स्वीकार्य   हुनेछैन ।’ उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुलाई मिशनमा रहँदा देशमा भएका ऐतिहासिक राजनैतिक परिवर्तन, निर्वाचन र तराई–मधेश क्षेत्रमा देखिएका जातीय तथा धार्मिक संवेदनशिलता जस्ता विषयहरुलाई सुक्ष्म रुपमा अध्ययन र विश्लेषण गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो । साथै उहाँले सुरक्षा सेवामा सानो लापरवाहीले पनि अपुरणीय क्षति पुर्‍याउन सक्ने भएकाले सशस्त्र प्रहरी कर्मचारीहरु चौविसैँ घण्टा उच्च सर्तकताकासाथ कार्यक्षेत्रमा परिचालन हुन समेत निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले जलवायु परिवर्तनका कारण हुनसक्ने बाढी, पहिरो र डुवान जस्ता विपद्का घटनाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुको भूमिका उल्लेखनिय रहने चर्चा गर्नहुँुदै विपद् व्यवस्थापनमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन गोताखोर तथा उच्च हिमाली उद्धारकर्ताको लागि तलव स्केलको १५ प्रतिशत जोखिम भत्ता तथा परिचालन भत्ताको समेत व्यवस्था भएको उल्लेख गर्नुभयो । विशेष गरी सीमा क्षेत्रमा हुने आर्थिक अनिमियततामा संगठनले पूर्ण रुपमा शुन्य सहनशीलताको नीति लिएको र यस्ता कार्यमा संलग्न जुनसुकै दर्जा सशस्त्र प्रहरी कर्मचारीहरुप्रति कठोर कदम चालिने स्पष्ट पार्नुहुँदैे उहाँले सीमा सुरक्षार्थ परिचालित हुँदा उच्च नैतिकता र व्यावसायिक दक्षताकासाथ खटिनु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कठिन सुरक्षा परिस्थिती र भिन्न भौगोलिक वातावरणमा समेत आफ्नो व्यावसायिकता र अनुशासन कायम राखी नेपालको अन्तर्राष्ट्रिय छवीलाई थप उचाई पुर्‍याउन सफल भएको उल्लेख गर्नुहुँदै दक्षिणी सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिशन (UNMISS)मा करीव १५ महिनाको कार्यकाल सफलतापूर्वक पुरा गरी स्वदेश फर्किएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुभयो । स्वदेश फिर्ता भएको सो टोलीको बदलीको लागि १३औँ डफ्फाको टोली आजै त्यसतर्फ प्रस्थान गरेको  छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी नेपालका सिनियर तथा जुनियर अधिकृतहरुको साथै विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

2083-04-21
APF News
अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्नेलाई तुरुन्त फिर्ता गर्न सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले अनुशासनमा कुनै किसिमको सम्झौता नगर्न र गल्ती गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई तुरुन्त फिर्ता गर्न निर्देशन दिनुभएको छ ।
    साउन २० गते संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न जाने १३औँ डफ्फाको टोलीको विदाई कार्यक्रममा महानिरीक्षक पौडेलले सो निर्देशन दिनुकासाथै कुनै एक जनाको गल्ती, लापरवाही तथा अनुशासनहिनताको कारणले मिशनमाथि प्रश्न चिन्ह उठ्यो भने त्यसको परिणाम घातक हुने बताउनुभएको छ ।
     उहाँले हाल विश्वमा भू–राजनीतिक प्रतिस्पर्धा, आतंकवाद र साईबर सुरक्षा जस्ता चुनौतीहरु थपिएको तथा शान्ति मिशनहरुको संख्या घट्दै गएको अवस्थामा यो अवसर पाउनु गौरवको विषय भएको बताउनुभयो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यो अवसर व्यक्तिगत नभई संगठन, राष्ट्र र सम्पूर्ण नेपाली जनताको प्रतिनिधित्व भएकोले सशस्त्र प्रहरी कर्मचारीहरुले मिशनमा गरिने प्रत्येक कार्यले नेपालको अन्तर्राष्ट्रिय छवि निर्धारण गर्ने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरीले शान्ति मिशनमा कायम गरेका व्यावसायिक पहिचानलाई थप उचाईमा पुर्‍याउन अझ जिम्मेवारीपूर्वक लाग्‍नुपर्ने बताउनुभयो ।
    उहाँले दक्षिण सुडानको संवेदनशील सुरक्षा अवस्था, सांस्कृतिक विविधता र सिमित श्रोतसाधनका बीच कार्यसम्पादन गर्नुपर्ने चुनौतीका बीच व्यावसायिक दक्षता, आपसी विश्वास, समन्वय र सामुहिक भावनाकासाथ कार्य गर्नुपर्नेमा जोड दिनुहुँदै यौन शोषण तथा दुव्र्यव्यहारमा शुन्य सहनशिलता र मानवअधिकारका विषयमा पूर्ण सजक रहन कडा निर्देशन दिनुभयो ।
    उहाँले आर्थिक पारदर्शीता कायम गर्दै प्राप्त बजेटको सहि सदुपयोग गरी मर्मत सम्भार तथा सामाग्री व्यवस्थापनमा इमान्दार हुन समेत निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरु मिशनमा कार्यरत रहँदा उनीहरुको परिवारमा आईपर्ने जस्तोसुकै समस्या समाधानका लागि संगठन सधैँ तयार रहेको बताउनुहुँदै मिशनको म्याण्डेट पुरा गरी सबै सशस्त्र प्रहरी कर्मचारीहरु थप गौरवकासाथ स्वदेश फिर्ता हुनेमा विश्वास व्यक्त गर्नुभयो । 
    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफपीयू मिशन वान जुबामा कार्यरत १२औँ डफ्फालाई बदली गर्न जान लागेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको एक वर्षे कार्यकाल सफल र उपलब्धी मूलक रहोस् भन्ने हार्दिक शुभकामना समेत व्यक्त     गर्नुभयो ।
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेलले समेत सो टोलीलाई हार्दिक विदाई गर्नुभएको थियो । 
सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिशन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिशन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीहरु कार्यरत छन् ।
सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तसहित १ सय ६० जना सशस्त्र प्रहरी कर्मचारीहरु साउन २१ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।

2083-04-20
APF News
सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको आठौँ वार्षिकोत्सव

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा साउन १५ गते सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको आठौँ वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कृष्णमोहन स्मृती भवनमा सम्पन्न भएको सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले शिक्षालयमा कार्यरत रहि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको   थियो ।
    उहाँले खेलकुदले व्यक्तिको अनुशासन, इमान्दारिता, शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्ती, सामुहिक भावनाको बिकास, जित्छु भन्ने सोच र नेतृत्व क्षमतामा अभिबृद्धि गराउनुकोसाथै जितलाई विनम्रतापूर्वक ग्रहण गर्ने संस्कार र हारलाई स्वीकार गर्नसक्ने साहस तथा निरन्तर सुधार गर्ने बानीको विकास समेत गराउने बताउनुभयो ।
    शिक्षालयले खेलाडीहरुलाई नेतृत्व, उत्तरदायित्व, इमान्दारिता, सेवाभाव तथा राष्ट्रियताको भावना विकासलाई समेत केन्द्रमा राखेर प्रशिक्षण गराउनुपर्नेमा जोड दिनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले भन्नुभयो–‘हाम्रो लक्ष्य पदक जित्नुमात्र नभई उत्कृष्ट चरित्र निर्माण गर्नु पनि हो, अनुशासन विनाको प्रतिभा अधुरो हुन्छ, नैतिकता विनाको सफलता दिगो हुँदैन ।’
    उहाँले नेपाल एपीएफ क्लवमा आवद्ध खेलाडीहरुको अनुशासन, लगाव र मेहनतका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेको सफलता र उपलब्धीले संगठन र राष्ट्रको गौरव बढाएको चर्चा गर्नुहुँदै यस्ता कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई संगठनको गौरव अभिबृद्धि र सक्षम खेलाडी उत्पादनमा अझ बढी अग्रसर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले कतिपय अवस्थामा हतियार र युनिफर्मधारी फौजले गर्न नसक्ने काम खेल र खेलाडीहरुले गर्न सकेका उदाहरणहरु रहेको उल्लेख गर्नुहुँदै शिक्षालयलाई थप व्यवस्थित बनाउन एवं खेलकुद तथा शारीरिक सुगठन प्रशिक्षणलाई समेत बैज्ञानिक र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभयो ।    उहाँले सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको स्थापना र विकासमा प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान पु¥याउनुहुने पूर्व तथा वर्तमान संगठन प्रमुख, प्रशिक्षक, खेलाडी तथा विभिन्न संघसंस्थाहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा नहेरी संगठनात्मक संस्कृतीको अभिन्न अङ्गको रुपमा आत्मसाथ गर्दै आईरहेको समेत बताउनुभयो ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अशोक कुमार बमले संगठन र देशको शिर उच्च बनाउने खेलाडीहरु राष्ट्रका अनुशासित सिपाही, प्रेरणाको स्रोत र भविष्यको आदर्श व्यक्तित्वका रुपमा रहेको उल्लेख गर्नुहुँदै शिक्षालयमा आवद्ध सम्पूर्ण खेलाडीहरुले खेलकुद क्षेत्रमा मेहनत, अनुशासन र आत्मविश्वासलाई सर्वोपरी ठानी आफ्नो अहम भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।  
    शिक्षालयले श्रोतसाधन सिमितताको बाबजुद हालका दिनसम्म २५ वटा खेल विधाहरुमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आईरहेको साथै नेपाल एपीएफ क्लवका खेलाडीहरुले राष्ट्रिय प्रतियोगिताहरुमा १ हजार ५ सय ७७ स्वर्ण, १ हजार ५ सय ७ रजत र १ हजार ५ सय ३९ कास्य गरी जम्मा ४ हजार ६ सय २३ पदक तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा १ सय २८ स्वर्ण, ९५ रजत र ८९ कास्य गरी ३ सय १२ पदक हासिल गरेका छन् । 
    त्यस्तै नेपाल एपीएफ क्लवले भविष्यमा राष्ट्रलाई अतुलनिय योगदान दिनसक्ने खेलाडी उत्पादन गर्ने हेतुले विभिन्न खेल विधाहरुमा ग्रासरुट कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ ।

2083-04-15
APF News
सशस्त्र प्रहरीले तीन महिनामा ३ सय ४७ जनाको गर्‍यो सकुशल उद्धार

सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापनसहितको टोलीले गत वैशाखदेखि असार मसान्तसम्मको अवधिमा विभिन्न घटना तथा दुर्घटना र विपद् जोखिममा परेका ३ सय ४७ जना नागरिकहरुको सकुशल उद्धार गरेको छ ।
    सशस्त्र प्रहरीले नदी, ताल तथा खहरे खोलाहरूमा डुबेका तथा बगाएका २ सय ११ वटा घटनाहरुबाट ८६ जनाको जीवितै उद्धार गरेको छ, भने सो घटनामा परी मृत्यु भएका १ सय २२ जनाको शव निकालेको छ । त्यस्तै विपद्को उच्च जोखिम लगायत बाढी, डुबान तथा कटानका घटनामा परेका २ सय ३९ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।    देशका विभिन्न स्थानमा भएको सडक दुर्घटनाहरूमा ६ जनाको तत्काल सकुशल उद्धार गरेको छ भने ८ सय ७ जनाको घाइते अवस्थामा उद्धार गरी उपचारको लागि विभिन्न अस्पतालतर्फ पठाएको छ । त्यसैगरी हावाहुरीमा परेका १२ जनाको उद्धार गरेको छ । 
     त्यस्तै देशको पहाडी क्षेत्रमा गएको पहिरोमा परेका ४ जनाको जीवितै उद्धार गरिएको छ । त्यस्तै सशस्त्र प्रहरीले देशभर २ सय २६ स्थानमा भएको आगलागी नियन्त्रणमा परिचालित भई सो आगलागीमा परी घाईते भएको ४ जनाको समेत सकुशल उद्धार गरेको छ ।
    जटिल प्रकृतिका जल विपद्का ३१ वटा घटनामा सशस्त्र प्रहरीको गोताखोरले ३ जनाको सकुशल उद्धार गरेको छ, भने १४ जनाको शव फेला पारेको छ । विपद्को जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरीले ४ सय ६४ वटा विद्यालय र ५ सय ४१ वटा क्लव तथा समुदायस्तरमा जनचेतनामूलक कक्षा संचालन गरेको छ । जसमा ४७ हजार ६ सय ८१ जना सहभागी रहेका थिए । 
    त्यसैगरी विपद् प्रतिकार्यको पूर्वतयारीका लागि सशस्त्र प्रहरी बल नेपालको एकल आयोजनामा १ सय १७ वटा र अन्य निकायहरुसँगको समन्वयमा १२ वटा गरी जम्मा १ सय २९ वटा कृत्रिम घटना अभ्यास संचालन गरेको      थियो । जसमा २० हजार ३ सय ६६ जना सहभागी रहेका थिए ।
    त्यस्तै सो अवधिमा सशस्त्र प्रहरीले समुदायस्तरमै दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले ४० वटा विपद् स्वयंसेवक तालिम संचालन गरेको छ । उक्त तालिमबाट ३ सय ५३ जना महिला र ७ सय ३१ पुरुष गरी १ हजार ८४ जना स्थानीय नागरिकहरु समुदाय विपद् स्वयंसेवकका रूपमा तयार भएका छन् । 
    त्यसैगरी देशभर २८ हजार २ सय ८१ सय जना सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन सम्बन्धी विशेष अनुशिक्षण तालिम प्रदान गरी तयारी हालतमा साथै कुनै पनि स्थानमा विपद्को सूचना प्राप्त हुनासाथ तत्काल परिचालन हुनसक्ने गरी ८ हजार १ सय ८० जना जनशक्ति २४सै घण्टा तयारी अवस्थामा रहेका छन् ।
    त्यसैगरी विपद् उद्धारमा लाग्ने समयलाई कम गर्न सशस्त्र प्रहरी बल नेपालले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य टोली खटाइएको छ, भने १६ वटा अति जोखिमयुक्त स्थानहरुमा आवश्यक जनशक्ति र स्रोतसाधनसहित विपद् व्यवस्थापन बेस स्थापना गरिएको छ । सशस्त्र प्रहरी बल नेपालमा रहेका १ सय ३४ जना गोताखोरहरुलाई देशको अति जोखिमयुक्त ११ स्थानमा आवश्यक उपकरणसहित तत्काल परिचालन हुने गरी तयारी हालतमा राखिएको छ । 
    मनसुन शुरु हुन अगावै उद्धार कार्यका लागि सशस्त्र प्रहरीले ८२ वटा राफ्ट बोट र ५३ वटा मोटर बोटहरू तयारी हालतमा तथा घाइतेहरूको तत्काल उपचार र स्थानान्तरणका लागि ८ वटा मास क्याजुअल्टी भेइकल, ८ वटा ’ए’ क्लास एम्बुलेन्स, १० वटा आई. आर. टी भेइकल र सडक अवरोध हटाउन १३ वटा हेभी इक्विपमेन्टहरू तयारी अवस्थामा र १३ जिल्लाका विभिन्न स्थानमा २८ वटा डिजास्टर रिलिफ सिस्टम कन्टेनरहरू समेत राखेको छ ।
    त्यस्तै सशस्त्र प्रहरी बल नेपालले आफ्नो वेभसाईट तथा फेसबुक, ट्वीटर मार्फत आपद् विपद्मा परेका नागरिकहरुको तत्काल उद्वार तथा सहयोग गर्नको लागि टोल फ्रि नम्बर १११४ मा सम्पर्क गर्न सकिने उल्लेख गरेको छ भने विपद्मा परेका नागरिकहरुले तत्कालै उद्वारको लागि सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
    त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराएको टोल फ्रि नम्बर १२३४ मा समेत देशभरका सबै जिल्लाहरुमा आपद् विपद्‍मा परेका आम नागरिकहरुले तत्काल उद्धार, राहत र सहयोगको लागि सम्पर्क गर्न सकिने बताएको छ ।

2083-04-13