भाद्र १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारण चीनको केरुङ्ग नाकामा अलपत्र परेका ७ सय ४१ जना नेपाली नागरिकहरूको सकुशल उद्धार गरिएको छ । उनीहरुलाई नेपाल-चीन सीमावर्ती कोदारी नाका हुँदै सकुशल स्वदेश फर्काइएको हो । चीन सरकारको विशेष सहयोग तथा सीमा नाकामा सशस्त्र प्रहरी बल, नेपालको प्रत्यक्ष सहजीकरण एवं समन्वयमा उनीहरूलाई सुरक्षित रूपमा काठमाडौँतर्फ पठाईएको छ । स्थलमार्ग अवरुद्ध भई चीनतर्फ रोकिएका नेपाली नागरिकहरूलाई भाद्र १८ गतेदेखि भाद्र २९ गतेसम्म सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका-२ स्थित कोदारी नाकाबाट नेपाल प्रबेस गराइएको हो । उनीहरुलाई स्थानीय तह तथा विभिन्न संघ-संस्थासँगको समन्वयमा सवारी साधनहरूको व्यवस्था गरी काठमाडौँतर्फ पठाइएको हो । सीमा क्षेत्रमा नागरिकको सुरक्षित उद्धार तथा आवागमन सहजीकरणका लागि बोर्डर आउटपोष्ट तातोपानीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भूप बहादुर बुढाथोकीको कमाण्डमा १५ जनाको विशेष टोली निरन्तर परिचालन भएको छ ।