भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी कर्तव्य पालनाकै क्रममा वीरगति प्राप्त गर्नुभएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति सशस्त्र प्रहरी बल नेपालले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । विपद्को घडीमा नागरिकको जीउधनको रक्षाका लागि अग्रपंक्तिमा खटिएकै अवस्थामा कुँवरलाई भाद्र १० गते आएको बाढीले बगाएको थियो । सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले नुवाकोटको लिखु गाउँपालिका-१, बरफेदीस्थित स्वर्गिय कुँवरको घरमै पुगेर शोकविह्वल परिवारजनलाई समवेदना प्रकट गर्नुभएको हो । भेटका क्रममा महानिरीक्षक पौडेलले संगठनले सुम्पेको जिम्मेवारी निर्वाह गर्ने क्रममा जवान कुँवरले देखाउनुभएको साहस र बलिदानको इतिहास प्रति संगठन सधैँ ऋणी रहने बताउनुभयो । महानिरीक्षक पौडेलले सोही बाढीमा परी बेपत्ता हुनुभएका सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलको परिवारसँग समेत भेटघाट गरी सहानुभूति प्रकट गर्नुभएको छ ।