रौतहट जिल्लाको गौर नगरपालिका–४ टिकुलियाबाट असोज ७ गते ४७ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको मोवाईलका पार्ट्ससहित दुई वटा मोटरसाईकल नियन्त्रणमा लिईएको छ । सोही ठाउँमा रहेको एक स्थानीयको घरबाट उल्लेखित मूल्यको मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो । सो ठाउँमा अवैध रुपले लुकाई छिपाई राखेको भन्ने सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा उक्त गणबाट सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमाण्डमा सशस्त्र प्रहरी तथा भन्सार कार्यालयको टोली खटिएको थियो । सो टोलीले उक्त घरबाट BR-OAA-3463 र BR-302-3239 नम्बरको दुई वटा मोटरसाईकल नियन्त्रणमा लिएको हो । बरामद मोवाईलका पार्ट्स तथा दुई वटै मोटरसाईकल आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाईएको छ । बरामद मोवाईल पार्ट्सको ४७ लाख ७४ हजार ५ सय रुपैयाँ र दुई वटा मोटरसाईकलको २ लाख ४० हजार रुपैयाँसहित भन्सार दाखिला मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ कायम भएको छ ।