Toggle Menu

समाचार

APF News
फायर फाइटिङ तालिम सम्पन्न

        सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्धार गण काठमाडौंमा संचालित सि.
सं. ३ फायर फाइटिङ तालिम असोज ५ गते सम्पन्न भएको छ ।
        तालिमको सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय
काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको
प्रमुख आतिथ्यतामा अन्तिम प्रवचन कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा उहाँले तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा
प्रमाणपत्रसमेत प्रदान गर्नुभयो ।
        सशस्त्र प्रहरी नायव महानिरीक्षक थापाले बढ्दो शहरीकरणसंगै जुनसुकै
स्थानमा हुनसक्ने आगलागी नियन्त्रण तथा धनजनको क्षति न्युनिकरणमा तत्कालै
परिचालन हुनसक्ने दक्ष जनशक्ति उत्पादन र पूर्व तयारी स्वरुप यस प्रकारको
तालिम संचालन गरिएको बताउनुभयो ।
        करीब ४ हप्ता अवधिको तालिम २ जना महिला कर्मचारीसहित कूल ५० जनाले
सफलतापूर्वक सम्पन्न गरेका छन् ।
        कार्यक्रममा प्रशिक्षार्थीहरुले ग्याँस पाईप, रेगुलेटरमा लागेको आगो
नियन्त्रण गर्ने विधी, मानिसको शरीरमा लागेको आगो निभाउने बिधि तथा शहर
बस्ती इलाकामा लागेको आगोलाई दमकलको सहायताले नियन्त्रण गर्ने सम्बन्धी
डेमोस्ट्रेशन गरिएको थियो ।
        तालिममा प्रशिक्षार्थीहरुलाई आगलागी नियन्त्रण गर्दा आवश्यक पर्ने
विभिन्न सामाग्रीहरु, आगलागी नियन्त्रण गर्ने तरिका र चरणहरुको बारेमा
सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण गराइएको थियो  ।
        कार्यक्रममा टोखा नगरपालिकाका प्रशासकिय अधिकृत शेरबहादुर बि.सी.,
त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल उद्धार तथा अग्नि निवारण महाशाखाका
उपनिर्देशक नारायण राउत, सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार
गण काठमाडौंका गणपति सशस्त्र प्रहरी उपरीक्षक पूर्णबहादुर साउद,
बुढानिलकण्ठ नगरपालिका विपद् व्यवस्थापन शाखाका प्रतिनिधि, प्रहरी बृत्त
गौशालाका प्रमुख, काठमाण्डौ महानगरपालिकाका नगर प्रहरी नायव उपरीक्षक,
जुद्ध बारुण यन्त्रको कार्यालयका प्रमुख लगायत स्थानिय जनप्रतिनिधिहरुको
समेत उपस्थिति रहेको थियो ।

2080-06-05
APF News
बाग्मती नदिबाट एक व्यक्तिको सकुशल उद्वार

        सशस्त्र प्रहरी बल नेपालले असोज ३ गते राती २ बजे बाग्मती नदिबाट एक
ब्यक्तिको  सकुशल उद्धार गरेको छ । काठमाडौको दक्षिणकाली नगरपालिका – ८
कटुवाल दह स्थित बाग्मती नदि किनारबाट सोही वडाको सिम्पानी राई टोल बस्ने
४० बर्षका रामबहादुर लामाको उद्धार गरिएको हो ।
        पानीको बहाव कम भएको बेला नदि पारी गएका लामा बहाव बढेसंगै वारि आउन
नसकी नदि किनारको पहरामा फसेका थिए ।
        सो बारे खबर प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद्
उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी निरीक्षक नारायण गुरूङ्गको कमाण्डमा
९ जना र सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण कीर्तिपुरबाट
सशस्त्र प्रहरी निरीक्षक सन्तोस के.सी.को कमाण्डमा गएको १५ जना सहितको
सुरक्षा फौजले रातको समयमा उनको सकुसल उद्धार गरेको हो ।
        मोटरबोट सहित गएको फौजले रोप रेस्क्यु र अन्य बिधिको प्रयोग गरि उद्धार
गरेपश्चात लामालाई आफन्तको जिम्मा लगाइएको छ ।

2080-06-03
APF News
१९औं एशियाली खेलकुद प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको बिदाई

        सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ‘१९औं एशियाली खेलकुद
प्रतियोगिता’ अन्तर्गत महिला ह्याण्डबलमा सहभागि हुने खेलाडी, प्रशिक्षक
र अफिसियल लगायत बक्सिङ खेलमा सहभागि हुने खेलाडीहरुलाई असोज २ गते
सशस्त्र प्रहरी बल नेपाल मुख्यालयमा आयोजित कार्यक्रमका बीच हार्दिक
बिदाई गर्नुभएको छ ।
        सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हाङ्गझाओ शहरमा
संचालन हुने एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला ह्याण्डबलतर्फ
क्याप्टेन बन्दना राईसहित १६ जना र बक्सिङ खेलमा सहभागि हुने एपीएफका ४
जना खेलाडी तथा प्रशिक्षक र अफिसियल गरी जम्मा २३ जनालाई बिदाई गरिएको हो

        सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले खेलकुदले व्यक्तिगत विकासमा टेवा
पुग्ने मात्र नभई समग्र राष्ट्रको समेत पहिचान झल्काउने भएकोले सहभागी
सम्पूर्ण खेलाडीहरुबाट अनुशासित तवरले खेल प्रदर्शन गर्नका साथै राष्ट्र
र समग्र जनताले खेलाडीहरुबाट उत्कृष्ट नतिजाको अपेक्षा राखेको बताउनुभयो

        कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणदत्त पौडेल,
चन्द्र प्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका
बरिष्ठ अधिकृत, नेपाल ह्याण्ड बल संघका अध्यक्ष बिश्व बम मल्ल तथा संघका
अन्य पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

2080-06-02
APF News
फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको ९ सय २० के.जी.गाँजासहित दुई जना नियन्त्रणमा

        भारतीय नम्बरको कन्टेनरमा फल्स बटम बनाई लुकाई छिपाई लैजाँदै गरेको करीव
९ सय २० के.जी. गाँजासहित सशस्त्र प्रहरीले भाद्र ३१ गते दुई जनालाई
नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु भारतको बलरामपुर जिल्ला बिर्तापुर घर बताउने
अन्दाजी ४५ वर्षिय दुलारे यादव र ३६ वर्षिय योगेश वर्मा छन् ।
        विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण मकवानपुरले
उनीहरुलाई मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बसपार्क स्थित
पूर्व–पश्चिम लोकमार्गबाट उल्लेखित गाँजासहित नियन्त्रणमा लिएको हो ।
        चितवनको खुरखुरेबाट बिरगंजतर्फ जाँदै गरेको एन.एल. ०१ ए.सी. २१४५
नम्बरको भारतीय कन्टेनरलाई शंका लागि जाँच गर्दा ड्राईभर साईडको भित्तामा
झण्डै दुई फिट चौडाई र ६ फिट लम्बाईको फल्स बटन बनाई लुकाई छिपाई लैजाँदै
गरेको उल्लेखित गाँजा फेला पारेको हो । नियन्त्रणमा लिइएकाहरु सो
कन्टेनरको चालक तथा सहचालक रहेका छन् ।
        नियन्त्रणमा लिइएका दुवै जनालाई बरामद गाँजा तथा कन्टेनरसहित आवश्यक
कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाईएको छ ।

2080-05-31
APF News
लुकाई छिपाई राखेको लत्ताकपडा तथा सामान बरामद

        रुपन्देही जिल्लाको रोहीणी गाउँपालिका ५ स्थित तरकुलहवाबाट घरमा लुकाई
छिपाई राखेको अवस्थामा भाद्र ३१ गते सशस्त्र प्रहरीले लत्ताकपडा तथा
सामान बरामद गरेको छ ।
        बिशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा
गुल्म डण्डाले सोही ठाउँ बस्ने दुई जना व्यक्तिको घरमा लुकाई छिपाई
राखेको ३० बोरा लत्ताकपडा र २ पोका प्लाष्टिक लेमिलेशन पेपर बरामद गरेको
हो ।
        बरामद लत्ताकपडा तथा अन्य सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार
कार्यालय बेलहियामा बुझाईएको छ । उल्लेखित सामानको भन्सार दाखिला मुल्य
करीव ३० लाख रुपैयाँ कायम भएको छ ।
 

2080-05-31
APF News
बिलबिजक भन्दा फरक सामान बोकेको मिनि ट्रकलाई जरिवाना

        बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ चौलिका चोकबाट सशस्त्र
प्रहरीले भाद्र २५ गते नियन्त्रणमा लिएको बिलबिजक भन्दा फरक सामान बोकेको
गाडीलाई ३ लाख ८८ हजार ८ सय ६८ रुपैयाँ जरिवाना गरिएको छ । भन्सार
मुल्यांकन भन्दा कम र बिलबिजक भन्दा बढि सामान भेटिएकोले सो गाडीलाई
राजश्व अनुसन्धान कार्यालय कोहलपुरले जरिवाना गरेको हो ।
        भारतको उत्तर प्रदेश जिल्ला बहराईच ठानडाई बस्ने ५३ वर्षिय राजित रामलाई
नं. ३० बागेश्वरी गण बाँकेले भाद्र २५ गते यूपी ४० टि ७५७५ नम्बरको पिकअप
गाडी र बिलबिजक भन्दा फरक हार्डवयरका सामानसहित नियन्त्रणमा लिएर आवश्यक
अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुरमा बझुाएको थियो ।

2080-05-31
APF News
लागूऔषधसहित तीन जना व्यक्ति नियन्त्रणमा

         सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ मारिया पुल नजिकैबाट भाद्र २८ गते
सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिएकाहरु सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ७ बस्ने अल्ताप
आलम, याहया आलम र सोही गाउँपालिका ६ बस्ने अरवाज आलम छन् ।
        सुरक्षा वेश भुटाहाले जाँच गर्दा उनीहरुले बोकेको झोलामा २२ हजार ७ सय
५० वटा ट्रमाडोल हाईड्रोक्लोराई ट्याब्लेट फेला परेपछि नियन्त्रणमा लिएको
हो ।
        नियन्त्रणमा लिएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।
 

2080-05-29
APF News
राष्ट्रिय वालदिवसको अवसरमा विविध कार्यक्रमको आयोजना

         नेपाल एपीएफ स्कूल कीर्तिपुरले विविध कार्यक्रमको आयोजना गरी ‘५९औं
राष्ट्रिय वालदिवस २०८०’ मनाएको छ ।
        सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती अनिता लामिछाने
अर्यालको प्रमुख आतिथ्यमा भाद्र २९ गते आयोजित वालदिवस कार्यक्रममा सो
स्कूलका विद्यार्थीहरुले विभिन्न गित संगितमा नृत्यकला, गायन तथा लागू
पदार्थ दुव्र्यसनी सम्बन्धी नाटक प्रस्तुत गरेका थिए ।
        संघकी अध्यक्ष श्रीमती लामिछाने अर्यालले कार्यक्रमलाई सम्बोधन
गर्नुकासाथै विभिन्न विधामा उत्कृष्ट नेपाल एपीएफ स्कूलका
छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
        कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, नेपालको
लागि दक्षिण कोरिया राजदुतावासकी ग्रेस जियोङ, विद्यालयका प्रधानाचार्य,
सशस्त्र प्रहरी बल नेपाल अधिकृत तथा बिल्लादार जवानहरुको समेत उपस्थिती
रहेको थियो ।

2080-05-29
APF News
नेपाली रुपैयाँसहित व्यक्ति नियन्त्रणमा

         बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ जमुनाहबाट भाद्र २५ गते
सशस्त्र प्रहरीले ३ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको
छ ।
        भारत घर बताउने ३० वर्षिय ईस्तियाक अहमदलाई प्रस्तावित सीमा सुरक्षा
गुल्म (बिओपी जमुनाह) बाँकेले नियन्त्रणमा लिएको हो ।
        भारतबाट यूपी ३२ एल.एच. ३७०४ नम्बरको मोटरसाईलमा नेपालतर्फ आउँदै गरेका
अहमदको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि
नियन्त्रणमा लिईएको हो ।
        नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ र मोटरसाईलकसहित आवश्यक
कारवाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाइएको छ ।
मोटरसाईकलको भन्सार दाखिला मुल्य २ लाख रुपैयाँ रहेको छ ।

2080-05-26
APF News
गाँजासहित दुई जना व्यक्ति नियन्त्रणमा

       मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ रातोमाटे स्थित
पूर्व–पश्चिम लोकमार्गबाट भाद्र २७ गते सशस्त्र प्रहरीले करीव ४० के.जी.
गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
        नियन्त्रणमा लिइएकाहरु चितवन जिल्लाको भरतपुर महानगरपालिका २४ बस्ने ३३
वर्षिय संगम गुरुङ्ग र बारा जिल्लाको कलैयाँ उपमहानगरपालिका २ बस्ने १५
वर्षिय दिपेश यादव छन् । संगम गुरुङ्ग भने सुमोको चालक रहेका छन् ।
        हेटौबाट बिरगंजतर्फ जाँदै गरेको ना १ ज ३६७७ नम्बरको टाटा सुमोमा जाँच
गर्दा उल्लेखित परिमाणको ४ प्याकेट गाँजासहित उनीहरुलाई नंं १४ गण
मकवानपुरले नियन्त्रणमा लिएको हो ।
        नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि
प्रहरी चौकी रातोमाटेमा बुझाईएको छ ।

2080-05-27