Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित दुई जना पक्राउ – 

बारा, 
    बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ३ खुदियाटोलास्थित सीमा ईलाकाबाट बैशाख ४ गते एपीएफ टोलीले करीब ११ लाख रुपैयाँ बराबरको चोरीपैठारीको रेडिमेड कपडासहित दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा भारतको पूर्वी चम्पारण तेलकुँवा १ घर बताउने २७ बर्षिय नाझा यादव र भारतकै मोतिहारी घर बताउने ३२ वर्षिय मुनिलाल पटेल छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक राजेश फुयालको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त कपडासहित पक्राउ गरेको हो । 
    भारतबाट अवैध रुपमा भन्सार छली ना. १ त ७७६० र ना. ४ त ३३२८ नम्बरका ट्रयाक्टरको ट्रलि मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त कपडा बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएकोे हो ।
एपीएफ टोलीले त्यसवेला उक्त कपडा ल्याउन प्रयोग भएको दुईवटै ट्रयाक्टर समेत बरामद गरेको छ । 
 

2076-1-5
APF News
सशस्त्र प्रहरी बलको गोतोखोरले नदीबाट शब निकाल्यो

बार्दिया, 
    बर्दिया जिल्लाको मधुवन नगरपालिका ३ कोडियाघाटस्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जनाको शब सशस्त्र प्रहरी बलको गोताखोरसहितको एपीएफ टोलीले बैशाख ३ गते नदीबाट बाहिर निकालेको छ । 
    कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका बस्ने १९ वर्षिय प्रज्ज्वल कोईराला र बाँके जिल्लाको कोहलपुर नगरपालिका बस्ने १८ बर्षिय दिपेन्द्र कार्की बैशाख १ गते उक्त नदीमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए । 
    सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालाय कुरिनटार चितवनबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिरेन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको एपीएफ टोलीले खोजी कार्य सुरु गरेको थियो । 
    सो टोलीले उक्त शब डुबेको स्थानभन्दा करीब तीन सय मिटर तल सो नदीमा तैरिरहेको अवस्थामा फेला पारी नदीबाट बाहिर निकालेको हो । 

2076-1-4
APF News
सशस्त्र प्रहरी बलबाट भएगरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलन – 

काठमाडौं, 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी सशस्त्र प्रहरी बललाई प्राप्त कार्यादेश अनुरुप संगठनबाट हालका दिनहरुमा भएगरेका कामकारवाही सम्बन्धमा जानकारी गराउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले विभिन्न प्रकृतिका सुरक्षा चुनौतीलाई सामना गर्न तथा प्रभावकारी सुरक्षा व्यवस्थाका लागि देशको सबै स्थानमा संगठनको उपस्थितिको आवश्यकता महसुस गरी संगठनको पुनर्संरचना गरिएको बताउनुभयो । उहाँले संगठनको पुनर्संरचना गरी विगतमा ५८ जिल्लामा उपस्थिति रहेको सशस्त्र प्रहरी बललाई देशका सबै जिल्लाहरुमा तैनाथ गरिएको स्मरण गराउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले भर्ना छनौट कार्यलाई सहज, सरल र पारदर्शी बनाईएको उल्लेखि गर्नुहुँदै २०७५ साल भरिमा कूल ३ हजार ५ सय ६४ जना विभिन्न दर्जामा भर्ना लिईएको तथा हाल ३ हजार ४ सय १ जना भर्ना छनौट प्रकृयामा रहेको बताउनुभयो । विगतमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय तथा मुख्यालयहरुबाट मात्रै दरखास्त आव्हान गरिँदै आएकोमा भर्नामा सवैको पहुँचलाई सुनिश्चित गर्न ७ वटा हिमाली जिल्ला, ३० वटा पहाडी जिल्ला र तराईका २१ जिल्ला गरी ५८ जिल्लाबाट आवेदन माग गर्नुका साथै स्थानीय भाषामा प्रचार प्रसार समेत गरिएको कुरा पत्रकार सम्मेलनमा उहाँले उल्लेख गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले दण्ड र पुरस्कारको नीति अवलम्बन गर्नुका साथै विपद् जोखिम न्यूनिकरणका क्षेत्रमा, सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने महानुभावहरुलाई संगठनको तर्फबाट सम्मान गर्ने कार्यको थालनी गरिएको, सशस्त्र प्रहरी बल नेपालले परिचालनका क्षेत्रहरुमा अपेक्षाकृत उपलब्धी हासिल गरेको, संगठनको कल्याणकारी कार्यलाई अझै प्रभावकारी तथा पारदर्शी तुल्याईएको, दुर्गम स्थानका नागरिकका दुई जना सन्ततीलाई नेपाल एपीएफ स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाईएको, चोरीपैठारी निकासी नियन्त्रण कार्यलाई प्रभावकारी बनाईएको, नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यमा शिघ्र परिचालन हुने संयन्त्रको विकास गरिएको लगायतका विविध कामकारवाहीमा भएका उपलब्धीबारे चर्चा गर्नुभयो । 
    आर्थिक पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरी कडाईका साथ पालना गराईएको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले गत वर्ष २.९९ प्रतिशत बेरुजु फछ्र्यौट भएकोमा अहिले दोस्रो चौमासिकसम्म आईपुग्दा ४३.७७ प्रतिशत बेरुजु फछ्ुर्यौट गरिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति, सुरक्षा तथा अमनचयन कायम राखी सुशासन बनाई राख्न देशभर रहेका एपीएफ ईकाईमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरु अहोरात्र खटिईरहेको चर्चा गर्नुहँदै ईमिडियट रेस्पोन्स टीम, चेकप्वाईन्ट, पिकेट तथा गस्ती गरी दैनिक रुपमा कूल १ हजार ८ सय ३४ टोली परिचालित रहेको, दैनिक रुपमा करीब १४ हजारको संख्यामा सशस्त्र प्रहरी कर्मचारी नियमित ड्युटीमा खटिएको, लङ्ग रेञ्ज पट्रोल तथा फोर्स मार्चमा ६ सय ४६ टोली परिचालन गरिएको तथा यसबाट ‘र्हाइवे’ मा हुन सक्ने लुटपाट, चोरी, डकैतीको कुनै पनि घटना नभएको उल्लेख गर्नुभयो ।
    सशस्त्र प्रहरी बल नेपालले एक वर्षको अवधिमा विभिन्न खालका २८ वटा अवैध हतियार बरामद  गर्नुका साथै गोली २ सय ९५ राउण्ड, म्यागजिन १३ वटा, बारुद एक सय ग्राम, डेटोनेटर ३३ वटा, ग्रिनेट ६० वटा, जिलेटिन २६ वटा तथा पाँच कार्टुन जिलेटिन लोला बरामद गरिएको तथा विभिन्न अपराधमा संलग्न ६ सय ८६ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा बुझाईएको कुरा समेत सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले जानकारी गराउनुभयो । उहाँले विभिन्न वन्यजन्तुको उद्धार गरिएको तथा देशका विभिन्न एक सय स्थानमा ईमिडियट रेस्पोन्स टीम तैनाथ गरिएको कुरा समेत उल्लेख गर्दैै सो टीममा उपलब्ध भएसम्म सशस्त्र प्रहरी बलको स्वास्थ्यकर्मी तथा एम्बुलेन्स समेत राखिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा सीमा अपराध नियन्त्रणमा गरिएका प्रयासबारे उल्लेख गर्नुहुँदै विभिन्न तहमा समकक्षीवीच भएको बैठकको संख्याबारेमा समेत जानकारी गराउनुभयो । उहाँले छिमेकी मुलुकका सुरक्षाकर्मीसँग समानान्तर एवं संयुक्त गस्ती गर्ने गरिएको तथा विभिन्न चाडपर्वमा सीमा नाकाहरुमा १ सय ६९ स्थानमा सहायता कक्ष स्थापना गरी १० हजार ५ सय ७५ जना यात्रुहरुलाई सहयोग पु¥याइएको बताउनुभयो । 
    विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरणतर्फ सशस्त्र प्रहरी बलले विभिन्न प्रयासहरु गरिरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले एक वर्षको अवधिमा ६ हजार ५७ जनालाई जीवितै उद्धार गर्नुका साथै मृत्यु भएका १ हजार ४ जनाको शब निकालिएको तथा उद्धार कार्यमा करीब २१ हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएको बताउनुभयो । 
    उहाँले सशस्त्र प्रहरी बलको सूचना प्रविधितर्फ प्रसस्त सुधार गरिएको बताउनुहुँदै विभिन्न एपीएफ ईकाईसँग आन्तरिक नेटवर्क जडान गरिएको, सर्विलेन्स सिस्टममा सुधार गरिएको, भिडियो कन्फरेन्सको क्षमता विकास गरिएको, सशस्त्र प्रहरी बलको तालिम पाठ्यक्रममा सुधार गरिएको, लगाएतका विविध कामकारवाहीहरुमा समयानुकुल सुधार गरिएको कुरा समेत उल्लेख गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको आगामी योजना सम्बन्धमा चर्चा गर्नुहँुदै बोर्डर आउट पोष्टको संख्या अझै बृद्धि गर्ने पहल गर्ने लगायत थप गुल्म स्थापना गर्न पहल गर्ने, विपद् दुर्घटना तथा प्रकोपको अवस्थामा खोज तथा उद्धार क्षमतामा बृद्धि गर्नुका साथै उद्धार कार्यलाई आधुनिक तथा प्रविधि मैत्री बनाउन पहल गर्ने लगायतका विविध प्रकृतिका आगामी योजनाहरुबारे समेत उल्लेख गर्नुभयो । 
 

2076-1-3
APF News
हेरोइन जस्तो देखिने ६ पुरिया धुलोसहित दुई जना पक्राउ

पूर्वी नवलपरासी,
        पूर्व नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाँउपालिका ७ स्थित ब्यारेज पुल
ईलाकाबाट चैत्र २९ गते एपीएफ टोली र स्थानीय प्रहरीले हेरोईन जस्तो
देखिने ६ पुरिया धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।
        उक्त ६ पुरिया धुलोको तौल करीब आधा ग्राम रेहेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षिय विक्रम लामा र २२ वर्षिय
प्रभात बुढाथोकी छन् ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको
एपीएफ टोली र स्थानीय प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।
        लु. १८ प ४४५७ नम्बरको स्कुटीमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला
उनीहरुलाई पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-12-29
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिमको समापन तथा गुल्मपति तथा स्टाफ तालिम उद्घाटन

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ३ गणपति तालिम समापन गर्नुका साथै मंगलबारदेखि सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. २१ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको उद्घाटन गुर्नभयो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा चैत्र २६ गते आयोजित उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले गणपति तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता तालिमबाट प्राप्त ज्ञान तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल रुपमा परिचालनगरी उत्कृष्ट कार्यसम्पादनमा सघाउ पुग्ने बताउनुभयो । 
उहाँले यस्ता पेशागत तालिमले वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै  शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जनशक्ति तयार भई कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुको सहज रुपमा सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट बढीभन्दा बढी ज्ञान आर्जन गर्नेतर्फ ध्यान पु¥याउँदै व्यक्तित्व बिकासमा क्रियाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
    सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तब्यको क्रममा संगठनलाई प्राप्त जिम्मेवारी कुशल रुपमा निर्वाह गर्न सक्ने क्षमतावान र व्यावसायीक अधिकृत उत्पादनका लागि यस्ता तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । 
    उहाँले राष्ट्र र संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि प्रतिष्ठानले विभिन्न आधारभूत, पेशागत र अनिवार्य तालिमहरु प्रभावकारी ढंगबाट निरन्तर रुपमा संचालन गर्दै आइरहेको बताउनुभयोे । 
    करीब दुई महिना अवधिको गणपति तालिममा कूल ३५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।
    यसैगरी करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३७ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।       
गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक होमबहादुर ज्ञवाली सर्वप्रथम भएका छन भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बानिया उत्कृष्ट ठहरिएका छन् ।

2075-12-26
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

रुपन्देही, 
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वेलहिया ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारतको महाराजगंज २७ जगनाथपुर घर बताउने २३ बर्षिय ममताज कुरैसी छन् ।  
    अवैध रुपले भन्साल छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लेडिज जुत्तासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    पक्राउ परेका निज कुरैसीलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-12-25
APF News
लागूऔषधसहित चार जना पक्राउ

दार्चुला,
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ पुलघाट ईलाकाबाट चैत्र २५ गते विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको दुहु गाँउपालिका ५ वस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् । 
    उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-12-25
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन

काठमाडौं,
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हे.क्वा. (बिशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २२६ (ड) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आईतबार सोही गणमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । 
त्यस अवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी जवान भक्तबहादुर पेग्नी, शारीरिक सहिष्णुतातर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी जवान जगत बहादुर बगाले, चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान किरण तामाङ र कवाजतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान दिवस तामाङलाई पुरस्कार समेत प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल, नेपालमा नव प्रवेशी प्रशिक्षार्थी जवानहरुले लामो समयको कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुहुँदै उहाँहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले आधारभूत तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशलले प्रशिक्षार्थीहरुको व्यावसायीक दक्षतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आईपर्ने विभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको एउटा महत्वपूर्ण सुरक्षा निकायको रुपमा रहेको चर्चा गर्नुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा अपराध नियन्त्रण, विपद् प्रकोपमा उद्धार, राजश्व चुहावट नियन्त्रण लगाएतका विभिन्न जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको चर्चा गर्नुभयो । 
उहाँले राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा ईमान्दारिकासाथ कटिबद्ध रहन दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रत्न पोख्रेलले धन्यवाद ज्ञापनको क्रममा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी तालिमलाई समयानुकुल व्यवहारिक एवं बैज्ञानीक ढंगले संचालन गरिएको बताउनुभयो । 
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रामहरी अधिकारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै करीब नौ महिना अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाइ ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, हुल तथा दंगा व्यवस्थापन, हतियार ह्याण्डलिङ, युद्धकला लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको बताउनुभयो । 
उक्त तालिममा १ सय २९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुका साथै स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थीहरुका अभिभावकवर्गको उपस्थिति रहेको थियो । 
 

2075-12-24
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सप्तरी, 
    सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई चैत्र २२ गते पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल छन् । 
    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    भारततर्फ पैदल जाँदै गरेका निज मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।

2075-12-22
APF News
एपीएफ टोलीद्वारा २ सय ९९ टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण

बारा, 
    भिषण हावाहुरीबाट पीडित बारा जिल्लाको फेटा गाँउपालिकास्थित विभिन्न ठाउँका पीडित परिवारलाई तत्काल बस्ने व्यवस्थाका लागि एपीएफ टोलीले त्यसठाउँमा २ सय ९९ वटा टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बारा नम्बर १२ गणबाट खटिएको एपीएफ टोलीले सो गाँउपालिकाको विभिन्न ठाउँमा टेण्ट लगाउनुका साथै त्रिपाल बितरण गरेर पीडित परिवारलाई अस्थाई बसोबासको व्यवस्था मिलाएको हो । 
    त्यसठाउँमा भिषण हावाहुरीबाट क्षति पुगे लगत्तै एपीएफ टोली उद्धार तथा राहत कार्यमा सकृयताका साथ जुटेको छ ।

2075-12-21
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण

काठमाडौं,

            सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत्र १० गतेबाट संचालित ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को चैत्र १५ गते समापन गर्नुभयो ।

            सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

            सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रतियोगिता संचालनमा सहयोग पुर्याउनुहुने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला भलिबल खेलतर्फ सर्वोत्कृष्ट हुने नेपाल एपीएफ क्लवका महिला भलिबल टिमकी रेश्मा भण्डारीलाई स्कुटर प्रदान गर्नुभयो । 

समारोहमा पूर्व सशस्त्र प्रहरी महानिरीक्षकहरु सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ तथा सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व अध्यक्ष श्रीमती कल्पना थापा लगायत नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन शर्मा, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, अग्नि ईन्कर्पोरेट प्रा.लि. महिन्द्राका कार्यकारी निर्देशक अर्जुन शर्मा, कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठानका अध्यक्ष गोविन्ददास श्रेष्ठ लगायतका महानुभावहरुले प्रतियोगिताका विभिन्न इभेन्ट्सहरुमा विजयी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

            सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले निरन्तर रुपमा राष्ट्रियस्तरका यस्ता प्रतियोगिताहरु संचालन गरी राष्ट्रको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक समेत प्राप्त गरी संगठन र राष्ट्रको नाम चिनाउन सफल भएको बताउनुभयो ।  

            उहाँले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गर्नुहुँदै यस्ता प्रतियोगिताबाट क्षमतावान खेलाडीहरुको पहिचान हुनुकासाथै भोलीका दिनमा खेल क्षेत्रमा नवप्रतिभाहरुको आगमन हुने विश्वास व्यक्त गर्नुभयो ।

            शुक्रबार सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामीले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१२, १८–२१ र २१–१४ ले तथा महिला एकलतर्फको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपीएफ क्लवकी जेसिका गुरुङ्गलाई २१–१४, १३–२१ र २१–१८ ले पराजित गरी उपाधि हात पारेका छन् । 

            यसैगरी आजै सम्पन्न लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लवका इभानोई लिसानोवीकले डेनमार्कका निकोलाई रास्त्रुपलाई ७–६ र ६–२ ले पराजित गरी उपाधि हात पार्न सफल भएका छन् ।         

            यसैगरी आजै सम्पन्न लनटेनिस प्रतियोगिताको महिला एकलतर्फको फाइनल खेलमा सुनसरीकी प्रेरणा कोईरालाले पोखराकी गंगा शर्मालाई ६–३ र ६–३ ले पराजित गरी उपाधि हात पारेकी छिन् ।

            यसैगरी ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को उपाधि नेपाल एपीएफ क्लबले जितेको छ ।   

           सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल एपीएफ क्लबले हंगवान्जि न्यू डाईमण्ड एकेडेमीलाई २५–१२, २५–११ र २५–११ को सोझो सेटमा पराजित गरी उपाधि हात पार्न सफल भएको हो ।

            यसैगरी प्रतियोगितामा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवलाई २५–१८, १७–२५, १३–२५, २५–२३ र १५–१३ गरी ३–२ को सेटले पराजित गरी तेस्र्रो स्थान हासिल गरेको छ ।

            प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले एक लाख २५ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

           सो प्रतियोगितामा नेपाल एपीएफ क्लवकी नेविका चौधरी उत्कृष्ट स्पाइकर, हंगवान्जि न्यू डाईमण्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट सर्भर, नेपाल एपीएफ क्लवकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स, नेपाल एपीएफ क्लवकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, सोही क्लवकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, उदयमान खेलाडीतर्फ नेपाल एपीएफ क्लवकी पुजा चौधरी र नेपाल एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन् । उनीहरुले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

            चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको सो प्रतियोगिता लिगकम नकआउटको आधारमा संचालन भएको थियो । प्रतियोगितामा आयोजक नेपाल एपीएफ क्लवसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, हंगवान्जि न्यू डाईमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन ट्रेनिंग सेन्टर गरी कूल ६ वटा महिला भलिबल टिमको सहभागिता रहेको थियो ।

यसैगरी सात लाख १० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा नौ वटा इभेन्ट्स तथा पाँच लाख ९५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा १३ वटा इभेन्ट्सका खेलहरु संचालन भएको थियो ।

            व्याडमिन्टनतर्फ पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो  हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५  हजार रुपैयाँ तथा क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला एकलमा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो  हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार  रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् त्यसैगरी पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार  रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

            यसैगरी महिला युगलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितिय हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्  ।

            यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ,  तेस्रो हुनेले १०/१० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् त्यसैगरी महिला एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् । 

            लनटेनिसतर्फकै पुरुष युगलमा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितिय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला युगलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितिय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

            प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।

2075-12-15
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडासहित दुई जना पक्राउ

कैलाली,
    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित शान्तिनगर ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले चोरीपैठारीको लेडिज कपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षिया दुर्गा सार्की र २४ वर्षिया गौरी थेकर छन् ।
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
    भारतबाट अवैध रुपले अटो रिक्सामा राखी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उनीहरुलाई उक्त कपडासहित पक्राउ गरेको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद कपडा तथा अटो रिक्सासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । बरामद कपडा तथा अटो रिक्साको भन्सार दाखिला मुल्य १ लाख ८३ हजार रुपैयाँ रहेको छ ।       

2075-12-15
APF News
एपीएफ टोलीद्वारा उद्धार तथा राहत कार्य

बारा,
        बारा जिल्लाको फेटा गाँउपालिका ६ स्थित पुरैनिया गाउँमा भिषण
हावाहुरीबाट भएको क्षतिग्रस्त स्थानमा एपीएफ टोली उद्धार तथा राहत
कार्यमा सकृयताका साथ जुटेको छ ।
एपीएफ टोलीले मंगलबार त्यसठाउँमा करीब ५० वटा पाल टाँगेर पीडितहरुका लागि
अस्थायी बसोबासको व्यवस्था समेत मिलाएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा चितवन नम्बर १७ गणबाट १ सय ५० थान
टेण्ट र त्रिपाल एक सय थानसहित उक्त स्थानमा खटिएको एपीएफ टोलीले पिडीत
स्थानीय बासिन्दाहरुको लागि अस्थाई बसोबासको व्यवस्था मिलाएको हो ।
        सो ईलाकामा राहत बितरण तथा उद्धार कार्यमा खटिएको एपीएफ टोली उद्धार
लगाएत टेण्ट तथा त्रिपाल बितरण कार्यमा सकृयताका साथ जुटिरहेको छ ।
        उद्धार तथा राहत कार्यमा सो गणको एपीएफ टोलीसँगै सशस्त्र प्रहरी बल,
नेपाल गण हेक्वा बारा नम्बर १२ गण तथा विभिन्न एपीएफ एकाईबाट खटिएको टोली
सकृयताका साथ जुटेको छ ।

2075-12-20