रसुवा बाढीमा परेकाहरुको उद्धारको लागि रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लास्थित सशस्त्र प्रहरी बल नेपालका युनिटहरुबाट उद्धारका सामग्रीसहित सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन भएका छन् ।
सो क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालिन राहत तथा उद्धार सामग्रीसहितको Disaster Relief System -DRS_ कन्टेनरहरू बाढी प्रभावित क्षेत्रहरुमा तत्काल पुर्याउने कार्य समेत भईरहेको छ । साथै अन्य क्षेत्रमा रहेका -DRS_ कन्टेनरहरू समेत बाढी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ ।
बाढीमा परी घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन Mass Casualty Vehicles (MCV) सहितको चिकित्सा तथा उद्धार टोलीलाई बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।
नदी किनारा तथा जोखिमयुक्त स्थानहरुका बस्तीमा सशस्त्र प्रहरीले गाडी तथा गस्ती टोलीमार्फत साईरन बजाई तथा माईकिङ्ग गरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन समेत भनिएको छ । त्यस्तै बाढीमा परेकाहरुको तत्काल उपचारको लागि नेपाल एपीएफ अस्पतालमा वेडहरु समेत खोली राखिएको छ ।
आपतकालिन उद्धारको लागि परिचालन भएका नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरहरुको सुरक्षित उडान तथा अवतरणको लागि ल्याँडिङ जोनहरुको तयार गरिएको छ । त्यस्तै रसुवागढी भन्सार तथा यार्ड प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिहरुको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालको प्ढ K9 Sniffer Dogs सहितको टोली खोजी तथा उद्धारको लागि परिचालन भएको छ ।
त्यस्तै नदी किनारा तथा बाढी प्रभावित क्षेत्रहरुमा हराईरहेका नागरिकहरुको लोकेशन पत्ता लगाउन तथा क्षति मुल्यांकन गर्न सशस्त्र प्रहरीले ड्रोन परिचालन गरेको छ । विस्थापित शिविरहरुमा हैजा तथा पानीजन्य रोग फैलन नदिन सशस्त्र प्रहरी बल नेपालले आपतकालीन खानेपानी शुद्धिकरण र औषधि वितरण कार्य शुरु गरेको छ ।
भोटेकोशी तथा त्रिशुली नदिको माथिल्लो तटीय क्षेत्रमा थुनिएको हिमपहिरो एक्कासी खुल्नसक्ने वा थप बाढी जोखिमबारे पूर्वसूचना प्राप्त गर्न र क्षती न्यूनिकरणको लागि चिनियाँ समकक्षी सुरक्षा निकायहरुसँग सशस्त्र प्रहरीले निरन्तर समन्वय तथा संवाद र सूचना आदान–प्रदान गरिरहेको छ ।