सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मा सहभागी हुने नेपाल एपीएफ क्लवका खेलाडीहरुलाई उच्च अनुशासन र फेयर प्लेको मूल मन्त्र पूर्ण रुपमा पालना गरी सहभागी हुनुपर्ने बताउनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा मंसिर ४ गते महानिरीक्षक पौडेलले सो कुरा बताउनुका साथै उक्त प्रतियोगितामा सहभागी हुने नेपाल एपीएपफ क्लवका खेलाडी, अफिसियल तथा प्रशिक्षकहरुलाई खेल सफलताको अग्रिम शुमकामना दिनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले उच्च मनोवलकासाथ खेलाडीहरुले खेल मैदानमा आफ्नो प्रतिभा देखाउनुपर्ने बताउनुहुँदै खेल मैदान, रिङ वा कोर्टभित्र रेफ्री तथा अम्पायरका निर्णयहरूलाई पूर्ण रूपमा पालना  गर्दै कुनै पनि अमर्यादित वा अनुशासनहीन गतिविधि नगर्न समेत निर्देशन दिनुभयो । उहाँले प्रत्येक खेलाडीले समग्र संगठन र राष्ट्रको सम्मान, इज्जत तथा गरिमाको प्रतिनिधित्व गर्ने भएकाले खेल अवधिभर उच्च आत्मबल र स्व–प्रेरणा कायम राख्नुपर्नेमा जोड दिनुहुँदै खेलकुद क्षेत्रले पनि सशस्त्र प्रहरी बलको पृथक् र विशिष्ट पहिचान स्थापित गर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले प्रतियोगिताका विभिन्न इभेन्टहरूमा नेपाल एपीएफ क्लवका खेलाडीहरुले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर एक आपसमा बलियो सहयोग तथा उच्च सामूहिक भावना कायम राख्नु पर्नेमा जोड दिनुहुँदै आन्तरिक समीकरण र टोलीगत एकता नै विजयको मूल आधार भएको स्पष्ट पार्नुको साथै प्रतियोगिताका क्रममा अनुशासनको सीमा उल्लङ्घन नगर्न र हार–जितलाई खेलको स्वाभाविक प्रक्रियाका रूपमा लिँदै स्वच्छ प्रतिस्पर्धा गर्नुपर्ने समेत बताउनुभयो । कुल २९ वटा खेल विधामा नेपाल एपीएफ क्लवका कुल ५ सय ८६ जना खेलाडीहरु सहभागी हुनेछन् । यसअघि पाँचौँ, छैटौँ, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल एपीएफ क्लवले दोस्रो तथा तेस्रो स्थान हासिल गर्दै आफ्नो दरिलो उपस्थिति जनाउँदै आईरहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा जवानहरुको सहभागिता रहेको थियो ।

APF