सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले पदोन्नतिलाई केवल दर्जा परिवर्तनको रूपमा मात्र नलिन र यसलाई जिम्मेवारी, जवाफदेहिता एवं नेतृत्व क्षमताको विस्तारका रूपमा लिनुपर्ने बताउनुभएको छ । 
    सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा जेठ २५ गते सशस्त्र प्रहरी अधिकृतहरुको दज्र्यानी चिन्ह सुशोभन कार्यक्रममा महानिरीक्षक पौडेलले सो कुरा बताउनु भएको हो ।
    सशस्त्र प्रहरी महनिरीक्षक पौडेलले मानव अधिकार उल्लंघन, लैंगिक हिंसा, भ्रष्टाचार र अनुशासनहीनताप्रति सशस्त्र प्रहरी बल नेपालले शून्य सहनशीलताको नीति लिएको हुँदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको कार्यशैली र व्यवहारमा उत्कृष्टता, समर्पण र इमानदारिता झल्किनुका साथै संगठनको प्रतिष्ठालाई आँच पु¥याउने गैरव्यावसायिक क्रियाकलाप क्षम्य नहुने उल्लेख गर्नुभयो ।
    उहाँले मनसुनको सुरुवातसँगै हुनसक्ने प्राकृतिक विपद्लाई मध्यनजर गर्दै सम्भावित जोखिमयुक्त स्थानहरूमा विपद् प्रतिकार्यका लागि पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुहुँदै शिघ्र प्रतिकार्यको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने भावनाकासाथ कार्यक्षेत्रमा परिचालन हुनुपर्नेमा जोड दिनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठन अब नतिजामा आधारित कार्य सम्पादनको दिशामा अघि बढ्ने र निष्ठापूर्वक एवं उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई विशेष अवसर प्रदान गर्ने बताउनुहुँदै आम नागरिकको अपेक्षा अनुसार अझ बढी परिणाममुखी, उत्तरदायी र नागरिकमैत्री रुपमा राष्ट्रसेवामा लाग्न निर्देशन दिनुभयो । 
    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले पदोन्नती हुनुभएका विशिष्ट अधिकृत तथा अधिकृतहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
    नेपाल सरकार मन्त्रपरिषदको मिति २०८३ जेठ १९ गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा अन्जनी कुमार पोख्रेल तथा सम्माननीय प्रधानमन्त्री एवं गृहमन्त्री स्तरको मिति २०८३ जेठ २० गतेको निर्णयले सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा बढुवा हुनुभएको हो । त्यसैगरी गृहमन्त्रालय सचिवस्तरको मिति २०८३ जेठ २१ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक, नायव उपरीक्षक र निरीक्षक पदमा बढुवा हुनुभएको थियो ।
    सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा हुनुभएका निम दिकि शेर्पालाई दज्र्यानी चिन्ह प्रदान गर्नुकासाथै सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई नगद पुरस्कारबाट सम्मान गर्नुभएको थियो ।
    कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सावित्रा कुमारी पौडेल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल र गणेश बहादुर ठाडा मगर लगायत सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।

APF