सशस्त्र प्रहरी बलको ईन्टेलिजेन्स व्युरोले ट्रमाडोल हाईड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) नामक लागूऔषध २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जेठ १२ गते राती करीब साढे २ बजे भक्तपुर जिल्ला मध्यपुर थिमी–६ कमेरेटारबाट काभ्रे जिल्ला पनौती नगरपालिका–५ घर भई भक्तपुर कटुन्जेमा डेरा गरी बस्ने ४१ बर्षिय विरध्वज तामाङलाई आवश्यक सोधपुछको लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सशस्त्र प्रहरीले निज तामाङको सूचनाको आधारमा ललितपुर जिल्ला गोदावरी नगरपालिका–२ बिशंखुनारायण मन्दिरबाट ३ सय मिटर अगाडि कोटडांडा जाने रोडको छेउमा पतकरले छोपेको अबस्थामा ६ वटा बोरा र २ वटा चाउचाउको कार्टुनमा लुकाईछिपाई राखेको अवस्थामा उल्लेखित लागूऔषध फेला पारेको हो ।
उनकै सूचनाको आधारमा लागूऔषध लुकाउने अर्का व्यक्ति काभ्रे जिल्लाको कोशीपारी–१ स्थायी घर भई ललितपुर जिल्लाको हरिसिद्धीमा डेरा गरी बस्ने ट्याक्सी चालक ३८ बर्षिय सान्तबहादुर तामाङ र उनले चलाउने गरेको बागमती प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । निज तामाङले लागूऔषध बोक्न ट्याक्सी प्रयोग गरेको आशंकामा नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका विरध्वज तामाङलाई सशस्त्र प्रहरीले जेठ १२ गते नै आवश्यक कारवाहीको लागि प्रहरी बृत्त थिमीमा बुझाएको थियो भने आज नियन्त्रणमा लिइएका सान्तबहादुर तामाङलाई बरामद लागूऔषध र ट्याक्सीसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरी प्रभाग गोदावरी ललितपुरमा बुझाइएको छ । सो लागूऔषध केही दिन अघि काठमाडौ भित्रिएको सूचना पाएपछि ब्युरोले पिछा गरेको थियो । कलंकीबाट बिरध्वज तामाङले उक्त लागूऔषध ललितपुरको चांगाथली पु¥याएको बुझिएको छ । त्यसपछि उनलाई सशस्त्र प्रहरीले नियन्त्रमा लिएको थियो । त्यसलगत्तै आज नियन्त्रणमा लिइएका ट्याक्सी चालकले लागूऔषध हरिसिद्धीमा केही दिन राखेर आज बरामद भएको ठाउँसम्म सोही ट्याक्सी प्रयोग गरेर लुकाएका थिए ।