सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी र रोकथाममा कडाईकासाथ लाग्न निर्देशन दिनुभएको छ ।
साउन १० गते उक्त जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म र बोर्डर आउट पोष्ट तथा सुरक्षा पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सो निर्देशन दिनुभएको हो ।
उहाँले सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रण कार्यमा प्रभावकारी रुपमा परिचालित भई नतिजामुखी काम गर्न निर्देशन दिनुहुँदै सीमा ईलाकामा हुने अवैध क्रियाकलाप रोकथाम र नियन्त्रणको लागि समयमा नै योजना बनाई तैनाथ हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्षेत्रमा परिचालित हुने सशस्त्र प्रहरी कर्मचारीहरुले सकारात्मक सोच र फरक कार्यशैली अपनाई पूर्ण जिम्मेवारी र बफादारिताकासाथ काम गर्न निर्देशन दिनुहुँदै महानिरीक्षक पौडेलले भन्नुभयो–‘असल मनसायकासाथ गरिएको कामकारवाहीमा भएको कमीकमजोरीको जिम्मा संगठनले लिनेछ ।’
उहाँले परम्परागत सोच र मानसीकता भन्दा माथि उठेर नतिजा दिने किसिमले काम गर्नुपर्ने बताउनुहुँदै सीमामा बसोवास गर्ने स्थानीय वासिन्दाहरुसँग सुमधुर सम्बन्ध राख्दै सीमा वारपार गर्ने आम नागरिकहरुको सहजताका लागि समेत काम गर्नुपर्ने बताउनुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सीमा क्षेत्रमा सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रमको समेत प्रभावकारी रुपमा संचालन गर्नुपर्ने बताउनुहुँदै विशेष गरी सीमानाकामा हुुने अवैध चोरीनिकासी तथा लागूऔषध ओसारपसार नियन्त्रण र राजश्व चुहावट लगायतका कार्यलाई उच्च प्राथमिकतामा राखी कार्य गर्नुकासाथै सीमामा हुने अवाञ्छित क्रियाकलापहरु तथा सम्भावित घट्ना दुर्घटनालाई समेत मध्यनजर गर्दै परिचालित हुनुपर्नेमा जोड दिनुभयो । सीमामा हुने अबैध क्रियाकलाप नियन्त्रणमा निर्मम ढंगले लाग्न र कुनै पनि आर्थिक प्रलोभनमा नपर्न उहाँले सीमा क्षेत्रमा कार्यरत सबै दर्जाका कर्मचारीलाई निर्देशन दिनुभयो ।
उहाँले बर्षातको समयलाई मध्यनजर गर्दै बाढि, पहिरो र डुवान जस्ता विपद्जन्य घटनामा तत्काल परिचालन हुनसक्ने गरी विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई आवश्यक उद्धारका सामाग्रीसहित तयारी हालतमा रहन समेत निर्देशन दिनुभएको छ ।