गृह सचिव राजकुमार श्रेष्ठले मनाङ जिल्ला, ङिस्याङ गाउँपालिका–४, हुम्डे स्थित ३४२० मिटर उचाइमा अवस्थित सशस्त्र प्रहरी बल नेपाल, पर्वतीय उद्धार तालिम शिक्षालयको समुद्घाटन तथा शिक्षालयमा संचालन भएको सि.स. २ उच्च भु–भाग खोज तथा उद्धार तालिमको वैशाख ३१ गते समापन गर्नुभएको छ ।
उहाँले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, त्याग र साहसको प्रशंसा गर्नुहुँदै उच्च भु–भागमा खोज तथा जोखिमपूर्ण उद्धार कार्यले विपद्मा परेकाहरुको उद्धारका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने बताउनुभयो ।
गृह सचिव श्रेष्ठले अकस्मात आउन सक्ने विपद् कार्यहरुमा सीमित श्रोतसाधनको बाबजुत पनि सशस्त्र प्रहरी बल, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको र सशस्त्र प्रहरी बल, नेपाललाई विपद् व्यवस्थापनको क्षेत्रमा आवश्यक दक्ष जनशक्ति र श्रोत साधन सम्पन्न बनाउन मन्त्रालय सदैव प्रतिबद्ध रहेको समेत बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद् व्यवस्थापनको क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले राष्ट्रको भरोसायोग्य सुरक्षा संगठनका रूपमा आफूलाई स्थापित गर्दै आईरहेको उल्लेख गर्नुहुँदै उच्च पहाडी तथा हिमाली क्षेत्रमा आकस्मिक घटना तथा चुनौतीहरुलाई प्रभावकारी रूपमा सामना गर्न खोज तथा उद्धार कार्यका लागि दक्ष र साहसी जनशक्ति उत्पादन गर्ने उद्देश्यले शिक्षालयको स्थापना गरिएको बताउनुभयो ।
उहाँले पर्वतीय उद्धार क्षमता केवल सुरक्षा व्यवस्थाको विषय मात्र नभई नेपालको राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय विश्वास तथा मानवीय उत्तरदायित्वसँग प्रत्यक्ष रूपमा जोडिने भएको हुँदा ज्ञान र सीपलाई व्यवहारमा उतारी उच्च हिमाली तथा दुर्गम क्षेत्रमा जीवन रक्षाको कार्यमा परिचालन हुन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
महानिरीक्षक पौडेलले शिक्षालयको थप सुदृढीकरणका लागि आवश्यक भौतिक पूर्वाधार, आधुनिक उद्धार उपकरण तथा स्रोतसाधन, बस्दोबस्ती सम्बन्धमा आपतकालीन व्यवस्था तथा उद्धार कार्यका लागि हेलिकप्टर र कठिन प्रकृतिको काममा खटिने कर्मचारीहरुको मनोबल उच्च राख्नको लागि जोखिम भत्ताको व्यवस्था भएमा उच्च हिमाली क्षेत्रमा उद्धार कार्य अझ प्रभावकारी हुने बताउनुभयो ।
उच्च भुभाग खोज तथा उद्धार तालिमका ४ जना प्रशिक्षक तथा १८ प्रशिक्षार्थीहरुले बैशाख २९ गते ६ हजार ३८ मिटर अग्लो चुलु फार ईस्ट हिमालको समेत सफल आरोहण गरेका थिए । यसअघि २०८२ असोज २५ गते सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज पौडेलको कमाण्डमा पहिलो पटक ७ जनाले चुलु फार ईस्ट हिमालको सफल आरोहण गरेका थिए भने २०८२ असोज ९ गते सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र के.सी.को कमाण्डमा २१ जनाले सफल आरोहण गरेका थिए ।
कार्यक्रममा मनाङ जिल्ला ङिस्याङ गाउँपालिकाका अध्यक्ष, गृह मन्त्रालय विपद तथा द्धन्द व्यवस्थापन महाशाखा प्रमुख, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, मनाङ्ग जिल्लाका प्रमुख जिल्ला अधिकारी, शिक्षालयका समादेशक लगायत सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
२०७७ सालमा मनाङ जिल्ला सदरमुकाममा स्थापना भई २०७८ साल वैशाख देखि ङिस्याङ गाउँपालिका ४ स्थित हुम्डेमा शिक्षालय स्थानान्तरण भएको हो ।
हालसम्म ७५ जनाले उच्च भू–भाग खोज तथा उद्धार आधारभूत तालिम, ५५ जनाले उच्च भू–भाग खोज तथा उद्धार एडभान्स तालिम र १ सय २० जनाले रोप रेस्क्यु तालिम प्राप्त गरेका छन् ।
शिक्षालयमा संचालन भएका विभिन्न तालिम तथा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङ लगायतका हिमाली जिल्लाहरुमा गत कार्तिक महिनामा हिउँमा फसेका व्यक्तिहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा उद्धार, भारी हिमपातमा फसेका १५ सय नागरिकहरुको सकुशल उद्धार लगायत अवरुद्ध सडकहरु पुनःसुचारु, अलपत्र परेका तथा वेपत्ता भएका व्यक्तिहरुको खोज तथा उद्धार गर्नुका साथै लेक लागेका स्वदेशी तथा विदेशी पर्यटकहरुको उद्धार गरेका छन् ।