सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी कर्मचारीहरुले शान्ति मिशनमा बटुलेका अनुभव र हरेक क्रियाकलापलाई देश र जनताको सेवा र सुरक्षामा समर्पित गर्न निर्देशन दिनुभएको छ । साउन २१ गते संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू.)मा सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको १२औँ डफ्फाको टोलीलाई स्वागत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सो कुरा बताउनुभएको हो । नेपालको वर्तमान सुरक्षा परिवेश अत्यन्तै गतिशील र परिवर्तनशील रहेको चर्चा गर्नहुँदै सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भन्नुभयो–‘म मिशनमा थिएँ, मलाई थाहा भएन भन्ने कुनै पनि बहाना अब स्वीकार्य हुनेछैन ।’ उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुलाई मिशनमा रहँदा देशमा भएका ऐतिहासिक राजनैतिक परिवर्तन, निर्वाचन र तराई–मधेश क्षेत्रमा देखिएका जातीय तथा धार्मिक संवेदनशिलता जस्ता विषयहरुलाई सुक्ष्म रुपमा अध्ययन र विश्लेषण गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिनुभयो । साथै उहाँले सुरक्षा सेवामा सानो लापरवाहीले पनि अपुरणीय क्षति पुर्याउन सक्ने भएकाले सशस्त्र प्रहरी कर्मचारीहरु चौविसैँ घण्टा उच्च सर्तकताकासाथ कार्यक्षेत्रमा परिचालन हुन समेत निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले जलवायु परिवर्तनका कारण हुनसक्ने बाढी, पहिरो र डुवान जस्ता विपद्का घटनाहरुमा सशस्त्र प्रहरी कर्मचारीहरुको भूमिका उल्लेखनिय रहने चर्चा गर्नहुँुदै विपद् व्यवस्थापनमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउन गोताखोर तथा उच्च हिमाली उद्धारकर्ताको लागि तलव स्केलको १५ प्रतिशत जोखिम भत्ता तथा परिचालन भत्ताको समेत व्यवस्था भएको उल्लेख गर्नुभयो । विशेष गरी सीमा क्षेत्रमा हुने आर्थिक अनिमियततामा संगठनले पूर्ण रुपमा शुन्य सहनशीलताको नीति लिएको र यस्ता कार्यमा संलग्न जुनसुकै दर्जा सशस्त्र प्रहरी कर्मचारीहरुप्रति कठोर कदम चालिने स्पष्ट पार्नुहुँदैे उहाँले सीमा सुरक्षार्थ परिचालित हुँदा उच्च नैतिकता र व्यावसायिक दक्षताकासाथ खटिनु पर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले कठिन सुरक्षा परिस्थिती र भिन्न भौगोलिक वातावरणमा समेत आफ्नो व्यावसायिकता र अनुशासन कायम राखी नेपालको अन्तर्राष्ट्रिय छवीलाई थप उचाई पुर्याउन सफल भएको उल्लेख गर्नुहुँदै दक्षिणी सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिशन (UNMISS)मा करीव १५ महिनाको कार्यकाल सफलतापूर्वक पुरा गरी स्वदेश फर्किएका सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुभयो । स्वदेश फिर्ता भएको सो टोलीको बदलीको लागि १३औँ डफ्फाको टोली आजै त्यसतर्फ प्रस्थान गरेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर र अञ्जनी कुमार पोखरेल लगायत सशस्त्र प्रहरी नेपालका सिनियर तथा जुनियर अधिकृतहरुको साथै विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।