सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको प्रमुख आतिथ्यमा साउन १ गते राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. ३ सुरक्षा तथा विपद् व्यवस्थापन अध्ययन अधिस्नातक डिप्लोमा (PGDSDMS) कोर्ष समापन भएको छ ।
    समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेल तथा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्रोफेसर डा.दुविनन्द ढकालले ‘बेष्ट एकेडेमीक अवार्ड तथा बेष्ट रिसर्च अवार्ड’ सशस्त्र प्रहरी निरीक्षक अनिल सुवेदी र ‘बेस्ट कम्पनी कमाण्डर’ सशस्त्र प्रहरी निरीक्षक प्रविण फुँयाललाई प्रदान गर्नुभएको थियो ।
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सफलतापूर्वक तालिम सम्पन्न गर्नुहुने उत्कृष्ट तथा सम्पुर्ण प्रशिक्षार्थी अधिकृतहरुलाई हार्दिक बधाई दिनुहुदै सशस्त्र प्रहरी बल नेपालले आधुनिक तथा बहुआयामिक सुरक्षा चुनौतीहरूको सामना गर्न संगठनलाई प्रविधिमैत्री आधुनिकीकरणको आवश्यकता रहेको उल्लेख गर्नुभयो । 
    उहाँले सशस्त्र प्रहरी बल नेपालको मुख्य जिम्मेवारी मध्ये सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजश्व सङ्कलनमा सहयोग तथा विपद् व्यवस्थापनमा प्रत्यक्ष रूपमा सहयोग पु¥याउने तथा सशस्त्र प्रहरी अधिकृतहरूमा रणनीतिक दृष्टिकोण, सोच, सही निर्णय लिने क्षमता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षासँग सम्बन्धित ज्ञान प्रदान गर्ने उद्देश्यले यस कोर्ष संचालन गरिएको बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले यस कोर्षले अधिकृतहरूको शैक्षिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, स्रोत व्यवस्थापन र निर्णय लिने क्षमतालाई अभिवृद्धि गर्दै सशस्त्र प्रहरी अधिकृतहरुलाई प्रभावकारी परिचालनका रणनीतिहरू बनाउन, समन्वय तथा नेतृत्वको भूमिका निर्वाह गर्न र नीतिहरूलाई व्यवहारमा उतार्न सक्षम बनाई सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलन र विपद् प्रतिकार्य कार्यहरूमा प्रभावकारी रूपमा परिचालन हुन थप मद्दत पुग्ने बताउनुभयो । 
    समारोहमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रोफेसर डा.दुविनन्द ढकालले दिक्षित हुने अधिकृतहरुलाई व्यावासायिक सफलताको हार्दिक बधाई दिनुहुँदै दिक्षित हुनु केवल कोर्षको अन्त्य नभई समपर्ण, अनुशासन र ज्ञानको निरन्तर खोजीको उत्सव रहेको बताउनुभयो । 
    गत असोज २६ गतेबाट गुल्मपति तथा स्टाफ तालिमको पाठ्यक्रम समेत समावेश गरी दुई सेमेष्टरमा संचालन भएको कोर्षमा ४० सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।
    कार्यक्रममा सशस्त्र प्रहरी  अतिरिक्त महानिरीक्षकहरु बंशीराज दाहाल, गणेश बहादुर ठाडा मगर, अञ्जनी कुमार पोखरेल लगायत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, सशस्त्र प्रहरी बल नेपालका अधिकृत तथा विल्लदार जवानहरुको समेत उपस्थिति रहेको थियो ।

APF