सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गरिएको छ ।
बैशाख २६ गते सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेललाई नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित कार्यक्रममा संघको तर्फबाट बधाई तथा शुभकामना प्रदान गर्नुभएको हो ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल, नेपाल र पूर्व सशस्त्र प्रहरी संघबीचको सम्बन्ध केवल औपचारीक मात्र नभई अनुभव र उर्जाको इतिहास र वर्तमान, समर्पण र निरन्तरताको सम्बन्ध रहेको बताउनुहुँदै बहालवाला संगठन र पूर्व संगठनबीचको सम्बन्ध जति बलियो हुन्छ संगठनको संस्थागत स्मृती, क्षमता र विश्वसनियता पनि त्यति नै सुदृढ हुँदै जाने समेत उल्लेख गर्नुभयो ।
महानिरीक्षक पौडेलले भन्नुभयो–“आज संगठनले प्राप्त गरेको प्रतिष्ठा, जनविश्वास र संस्थागत पहिचान सहजै निर्माण भएको होइन यसको पछाडी अग्रजहरुको त्याग, बलिदान, संघर्ष, समर्पण र व्यावसायिकताको लामो इतिहास जोडिएको छ त्यो इतिहासलाई भविष्य निर्माणको प्रेरणाको रुपमा ग्रहण गर्नुपर्दछ” ।
उहाँले संगठनको हित र छविसँग सम्बन्धित विषयमा पूर्व संघको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिनुहुँदै संगठनको हित, मनोबल र दीर्घकालिन प्रभावसँग सम्बन्धित विषयहरुमा पूर्व संघ सक्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक सनत कुमार बस्नेतले संगठनमा विगत देखि नै प्रत्येक नेतृत्वले उल्लेख्य कार्यहरु गर्दैै आईरहेको बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको कार्यकालमा समेत संगठनले आफ्ना विभिन्न क्षेत्रहरुमा थप प्रगति हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले संगठनमा नेतृत्व परिवर्तन नियमित प्रक्रिया रहेको उल्लेख गर्नुहुँदै यससँगै बृत्तिविकासको प्रकृया अघि बढ्ने बताउनुभयो ।
कार्यक्रममा महानिरीक्षक पौडेललाई अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु लगायत अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसी, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी अतिरीक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु, सशस्त्र प्रहरी वरिष्ठ अधिकृतहरु लगायत संघका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।