सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अञ्जनी कुमार पोखरेलको प्रमुख आतिथ्यमा साउन १५ गते सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको आठौँ वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित कृष्णमोहन स्मृती भवनमा सम्पन्न भएको सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले शिक्षालयमा कार्यरत रहि उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा विभिन्न विधामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
उहाँले खेलकुदले व्यक्तिको अनुशासन, इमान्दारिता, शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्ती, सामुहिक भावनाको बिकास, जित्छु भन्ने सोच र नेतृत्व क्षमतामा अभिबृद्धि गराउनुकोसाथै जितलाई विनम्रतापूर्वक ग्रहण गर्ने संस्कार र हारलाई स्वीकार गर्नसक्ने साहस तथा निरन्तर सुधार गर्ने बानीको विकास समेत गराउने बताउनुभयो ।
शिक्षालयले खेलाडीहरुलाई नेतृत्व, उत्तरदायित्व, इमान्दारिता, सेवाभाव तथा राष्ट्रियताको भावना विकासलाई समेत केन्द्रमा राखेर प्रशिक्षण गराउनुपर्नेमा जोड दिनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले भन्नुभयो–‘हाम्रो लक्ष्य पदक जित्नुमात्र नभई उत्कृष्ट चरित्र निर्माण गर्नु पनि हो, अनुशासन विनाको प्रतिभा अधुरो हुन्छ, नैतिकता विनाको सफलता दिगो हुँदैन ।’
उहाँले नेपाल एपीएफ क्लवमा आवद्ध खेलाडीहरुको अनुशासन, लगाव र मेहनतका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा हासिल गरेको सफलता र उपलब्धीले संगठन र राष्ट्रको गौरव बढाएको चर्चा गर्नुहुँदै यस्ता कार्यलाई आगामी दिनहरुमा समेत निरन्तरता दिई संगठनको गौरव अभिबृद्धि र सक्षम खेलाडी उत्पादनमा अझ बढी अग्रसर हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पोखरेलले कतिपय अवस्थामा हतियार र युनिफर्मधारी फौजले गर्न नसक्ने काम खेल र खेलाडीहरुले गर्न सकेका उदाहरणहरु रहेको उल्लेख गर्नुहुँदै शिक्षालयलाई थप व्यवस्थित बनाउन एवं खेलकुद तथा शारीरिक सुगठन प्रशिक्षणलाई समेत बैज्ञानिक र प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयको स्थापना र विकासमा प्रत्यक्ष तथा परोक्ष रुपमा योगदान पु¥याउनुहुने पूर्व तथा वर्तमान संगठन प्रमुख, प्रशिक्षक, खेलाडी तथा विभिन्न संघसंस्थाहरुप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै खेलकुदलाई अतिरिक्त क्रियाकलापको रुपमा नहेरी संगठनात्मक संस्कृतीको अभिन्न अङ्गको रुपमा आत्मसाथ गर्दै आईरहेको समेत बताउनुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक अशोक कुमार बमले संगठन र देशको शिर उच्च बनाउने खेलाडीहरु राष्ट्रका अनुशासित सिपाही, प्रेरणाको स्रोत र भविष्यको आदर्श व्यक्तित्वका रुपमा रहेको उल्लेख गर्नुहुँदै शिक्षालयमा आवद्ध सम्पूर्ण खेलाडीहरुले खेलकुद क्षेत्रमा मेहनत, अनुशासन र आत्मविश्वासलाई सर्वोपरी ठानी आफ्नो अहम भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
शिक्षालयले श्रोतसाधन सिमितताको बाबजुद हालका दिनसम्म २५ वटा खेल विधाहरुमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आईरहेको साथै नेपाल एपीएफ क्लवका खेलाडीहरुले राष्ट्रिय प्रतियोगिताहरुमा १ हजार ५ सय ७७ स्वर्ण, १ हजार ५ सय ७ रजत र १ हजार ५ सय ३९ कास्य गरी जम्मा ४ हजार ६ सय २३ पदक तथा विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा १ सय २८ स्वर्ण, ९५ रजत र ८९ कास्य गरी ३ सय १२ पदक हासिल गरेका छन् ।
त्यस्तै नेपाल एपीएफ क्लवले भविष्यमा राष्ट्रलाई अतुलनिय योगदान दिनसक्ने खेलाडी उत्पादन गर्ने हेतुले विभिन्न खेल विधाहरुमा ग्रासरुट कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको छ ।