सर्लाही जिल्लाको कविलासी नगरपालिका ८ अगर्वाबाट चैत्र २२ गते सशस्त्र
प्रहरीले श्रोत नखुलेको ५ लाख भारतीय र ५ लाख नेपाली रुपैयाँसहित तीन
जनालाई नियन्त्रणमा लिएको छ ।
नम्बर १० गण सर्लाहीले उल्लेखित रुपैयाँसहित सोही जिल्लाको धनकौल
गाँउपालिका ६ घर भई हाल हरिवन नगरपालिका ११ बस्ने ४५ बर्षिय गान्धि साह
सोनार, रुपन्देही जिल्लाको साविक फरेना गाविस ६ बस्ने ३५ बर्षिय राजेश
बनिया र भारत घर भई हाल पर्सा जिल्लाको बिरगंज महानगरपालिका १९ बस्ने १९
बर्षिय अनिल साहलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले मलंगवाबाट नवलपुरतर्फ
जाँदै गरेको तीन जना सवार प्रदेश नं. २-०३-०१५ प ५९६९ नम्बरको मोटरसाइकल
रोकी जाँच गर्दा उनीहरुको साथमा उक्त रुपैयाँ फेला परेको र सो रुपैयाँको
श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।
उनीहरुको साथबाट भारतीय रुपैयाँ ५ सय दरको ९ सय ९६ वटा (४ लाख ९८ हजार),
२ हजार दरको एक वटा र नेपाली रुपैयाँ ५० दरको ३२ वटा (१ हजार ६ सय), १ सय
दरको ४ सय ८४ वटा (४८ हजार ४ सय), ५ सय दरको ३ सय वटा (१ लाख ५० हजार), १
हजार दरको ३ सय वटा (३ लाख) नोट बरामद भएको हो ।
नियन्त्रणमा लिएका तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि
राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको छ ।