काठमाडौ, नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालित ‘सि.सं. २८ ‘कमाण्ड तथा स्टाफ तालिम’का शिक्षार्थी अधिकृतहरुले बिहिबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको अवलोकन भ्रमण गरी सशस्त्र प्रहरी बल, नेपालबारे विविध जानकारी लिएका छन् । सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक नारायणदत्त पौडेलले स्वागत मन्तव्यको क्रममा यस्ता अवलोकन तथा भ्रमणमा सिकेका ज्ञान, कला र कौशलले कार्यक्षेत्रमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताउनुहुँदै जिम्मेवारी निर्वाहको क्षेत्रहरुमा नेपाली सेना लगायत अन्य सम्बद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै नागरिकको सेवा तथा सुरक्षामा कटिबछद्ध भई परिचालन हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भविष्यमा समेत यस्ता समन्वय, सहकार्य र भ्रमण निरन्तर रुपमा संचालन हुने विश्वास व्यक्त गर्नुहुँुदै शिक्षार्थी अधिकृतहरुलाई तालिम सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । सोही अवसरमा कायम मुकाय सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेत तथा भ्रमणको नेतृत्व गरी आउनु भएका प्रमुख सेनानी झविन्द्र बहादुर रेश्मी मगरले एक आपसमा मायाको चिनो आदान प्रदान गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी उपरीक्षक रविनराज कर्णजितले सशस्त्र प्रहरी बल, नेपालको पृष्ठभूमि, परिचालनका क्षेत्रहरु, सांगठानिक संरचना, सुरक्षा चुनौती लगायतका विविध विषयहरुमा प्रस्तुतीकरण मार्फत जानकारी गराउनुुको साथै शिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल, नेपालको बारेमा राखेको विविध जिज्ञासाहरुबारे प्रष्ट पार्नुभएको थियो । त्यसअवसरमा शिक्षार्थी अधिकृतहरुले विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बल, नेपालले प्रयोगमा ल्याएको विविध सामाग्रीहरुको अवलोकन समेत गरेका थिए । सो तालिममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा बंगलादेश, पाकिस्तान, नाईजेरिया, कोरिया, लेवनान, श्रीलंका, यूके, भारत, माल्दिभ्स र मलेसियाका गरी कुल ७२ जना शिक्षार्थी अधिकृतहरुको सहभागिता रहेको थियो ।
APF