सुनसरी,
सुनसरी जिल्लाको ईनरुवा नगरपालिका ९ बबियास्थित सीमा ईलाकाबाट जेठ १०
गते सशस्त्र प्रहरीले चोरीपैठारीको माछा तथा किराना सामानसहित रुपन्देही
जिल्लाको देवदह नगरपालिका ६ बस्ने ३१ वर्षिय सन्तोष गैह्रेलाई पक्राउ
गरेको छ ।
भारतबाट अवैध रुपले को ५ प ५८०४ तथा को ४ प ७३२० नम्बरको मोटरसाईकल र लु
२ च ७९२८ नम्बरको पिअकप गाडीमा राखी नेपालपतर्फ ल्याउँदै गरेको सामानसहित
उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण सुनसरीबाट खटिएको सशस्त्र
प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल तथा
पिकअप गाडी समेत बरामद गरेको छ ।
उनलाई बरामद सामान तथा दुईवटै मोटरसाईकल र गाडीसहित आवश्यक कारवाहीको
लागि भन्सार कार्यालय सुनसरीमा बुझाईएको छ । बरामद सामान तथा मोटरसाईकल र
गाडीको भन्सार मुल्य १४ लाख ४० हजार रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गण सप्तरीबाट खटिएको सशस्त्र
प्रहरीले जेठ १० गते करीव ५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना
सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपाल ल्याई लुकाईछिपाई राखेको उक्त सामान सशस्त्र
प्रहरीले सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित एक घरबाट बरामद
गरेको हो ।