काठमाडौं,
पश्चिम नवलपरासी जिल्लाको पाल्हीनन्दन गाँउपालिका १ महेशपुरस्थित सीमा
ईलाकाबाट कार्तिक १८ एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई
जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको सरावल गाँउपालिका ३ भटौलिया बस्ने २०
बर्षिय शंकर परियार र रामग्राम नगरपालिका ९ बस्ने ४३ बर्षिय
सुरेन्द्रप्रसाद हरिजन छन् ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ
टोलीले उनीहरुलाई जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ६ पत्ता,
नाईट्रोभेट १० पत्ता, फेनारगन तीन सय ५० एम्पुल, नोफिन चार सय एम्पुल र
डाईजापाम तीन सय ५० एम्पुल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको
एपीएफ टोलीले कार्तिक १९ गते सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित
सीमा ईलाकाबाट विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको सोही नगरपालिका १६ बस्ने संजिवकुमार
यादव र बिकीकुमार यादव छन् ।
एपीएफ टोलीले उनीहरुलाई शंका लागि जाँच गर्दा निजहरुको साथमा कोडिन
फोसफेट एण्ड क्लोरफेनिरामाईन म्यालेट चार बोतल र नाईट्रोभेट ट्याब्लेट
पाँच वटा फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो ।