बर्दिया,
बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बाट कार्तिक ४ गते राति एपीएफ
टोलीले करीब १८ के.जी. पाँच सय ग्राम अफिम तथा करीब पाँच के.जी. चरेशसहित
एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पश्चिम रुकुम जिल्लाको बाफीकोट गाँउपालिका ८ डुले बस्ने
३८ बर्षिया निर्मला बाँठामगर छिन् ।
बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
कट्टीबाट खटिएको एपीएफ टोलीले निज बाँठामगरलाई उक्त लागूऔषधसहित पक्राउ
गरेको हो ।
एपीएफ टोलीले शंकास्पद अवस्थामा भेटिएकी निजलाई जाँच गर्दा उनले कम्मरमा
पेटी बनाई बाँधेको अवस्थामा पाँच के.जी. पाँचसय ग्राम अफिम फेला परेको
थियो । त्यसपछि निजबाट खुल्न आएपछि थप दुई वटा झोलामा राखेर परालको
कुन्युभित्र लुकाएको अवस्थामा १३ के.जी. अफिम र पाँच के.जी. चरेश फेला
परेको थियो ।
उक्त लागूऔषध ओसार पसारमा संलग्न रहेका अन्य दुई जना व्यक्ति एपीएफ
टोलीलाई टाढैबाट देख्नासाथै भागी फरार भएका थिए ।
पक्राउ परेकी निज बाँठामगरलाई बरामद लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय
गुलरियामा बुझाइएको छ ।