काठमाडौं,
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ बाट असोज १२ गते एपीएफ टोलीले करीब पाँच लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमको लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ९४८९ नम्बरको यात्रुवाहक बसमा जाँच गर्ने क्रममा उक्त लत्ताकपडाको कुनै कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो ।
बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा बिरगंजबाट खटिएको एपीएफ टोलीले असोज १२ गते करीब एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र भाडावर्तन बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान बिरगंज महानगरपालिका १६ बाईपास रोड ईलाकाबाट बरामद गरिएको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बिरगंजमा बुझाएको छ ।