सुनसरी,
सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तिनकुने स्थित सीमा ईलाकाबाट चैत्र ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने ४० वर्षिय समिर आले र सोही ठाउँ बस्ने १८ वर्षिय विवेक पोखरेल छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
स ९ प २२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट ३८ वटा, स्पास्मो प्रोक्सिभन चार वटा, डाईजिपाम एक एम्पुल, फेनारगन एक एम्पुल र लिजेसिक एक एम्पुल फेला परेपछि एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।