सप्तरी,
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनिमाई नगरपालिका १४ स्थित सीमा ईलाकाबाट फागुन २३ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा झापा जिल्लाको शनिअर्जुन नगरपालिका ११ बस्ने २५ वर्षिय बिकास प्रधान र उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बेल्टार बस्ने २६ वर्षिय प्रताप रानामगर छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुमध्ये बिकास प्रधानको साथबाट डाईजाल्याव १२ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा र प्रताप रानामगरको साथबाट डाईजाल्याव १३ वटा, बुप्रेनोफिन इन्जेक्सन १३ वटा, फेनारगन १२ वटा फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।