Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा जेठ ६ गते आयोजित विशेष समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्हबाट शुसोभित गर्नुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को यही जेठ ६ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सम्बोधनको क्रममा महानिरीक्षक अर्यालले हालै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका नारायणदत्त पौडेललाई हार्दिक बधाई दिनुहुँदै उहाँले संगठनमा रहेर आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा प्रदर्शन गर्नुभएको कार्यक्षमता, सांगठनिक बिकासमा पुर्‍याउनु भएको योगदान तथा सेवाप्रतिको निष्ठा आदिको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्नुहुँदै उहाँलाई आगामी दिनमा कार्य सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । उहाँले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि जोड दिनुहुँदै राष्ट्रसेवक सशस्त्र प्रहरीहरुको बृहत्तर हितका लागि निर्णय गरि केही सुधारका कार्यहरुको सुरुवात गरि सकिएको उल्लेख गर्नुहुँदै अधिकृत तहका कर्मचारीहरुले जिम्मेवारी निर्वाहको क्रममा मातहतकालाई कुशल नेतृत्व र उच्च हौसला प्रदान गर्दै राज्यप्रदत्त जिम्मेवारी निर्वाहमा लाग्न त्यसैअवसरमा सकल दर्जालाई निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले आफ्नो लागि सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु सबै समान रहेको उल्लेख गर्नुहुँदै फौजी संस्कार निर्माण गरी आवश्यकता अनुरुपको नीति नियम तर्जुमा गर्दै सामुहिक नेतृत्व र सामुहिक निर्णयकासाथ संगठनलाई अगाडी बढाईने समेत स्पष्ट पार्नुभयो । उहाँले यदि कोही फौजी संस्कारको बर्खिलाप र गैह्र व्यावसायिक क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्तालाई कारवाहीको दायरामा ल्याईने बताउनुहुँदै सकल दर्जाको सरुवा तथा बढुवालाई बैज्ञानिक, पारदर्शी र अनुमान योग्य बनाईने उल्लेख गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष श्रीमती अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती सावित्रा पौडेललाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
2079-02-06
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित सीमा ईलाकाबाट जेठ ५ गते सशस्त्र प्रहरीले करीव १ लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बिओपी बिरगंजबाट खटिएको टोलीले बरामद गरेको हो यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी रानीबाट खटिएको टोलीले जेठ ६ गते करीव १ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र एअरफोन बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2079-02-06
APF News
चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले ४ लाख भारतीय रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोहि जिल्लाको भगाहा नगरपालिका २ बस्ने ३१ बर्षिय रन्जित चौधरी र भारतमा घर बताउने ३३ बर्षिय संजय कुमार प्रजापति छन् । मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको उनीहरुले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेका दुबै जनालाई बरामद भारतीय रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।
2079-02-06
APF News
महानिरीक्षक अर्यालबाट निर्वाचन सुरक्षार्थ देशभर परिचालित सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट बैशाख २६ गते निर्वाचन सुरक्षार्थ देशभर खटिएका सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई आसन्न स्थानिय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पुरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिनुभएको छ । उहाँले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपुर्ण परिचालनको प्रशंसा गर्नुहुर्दै निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताउनुभयो । महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै बिभिन्न निकायहरुसग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेबारी निर्वाहमा क्रियासिल रहन निर्देशन दिनुहुदै लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने समेत बताउनुभयो । उहाँले निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलाइ निर्वाचन सुरक्षा, आचारण संहिता र पदयी आचरणमा रहि अनुशासन, ईमान्दारिता र लगशिल भई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिनुहुँदै सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरुले आफुले गरेका गतिविधिहरुलाई सामाजिक संजालमा सेयर तथा पोष्ट गर्न नहुने कुरा समेत बताउनुभयो । कमाण्डर तहका अधिकृतहरुले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशन दिनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भन्नुभयो-‘जस्तोसुकै चुनौती भित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नुपर्छ ।’ उक्त कार्यक्रम लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई भएरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियासिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा बैशाख २५ गते सबै प्रदेशमा एक÷एक टोली परिचालन गरेको छ । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमल प्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत नं. १ प्रदेश, उद्धव बहादुर न्यौपाने मधेष प्रदेश, राजेन्द्र खड्का सूदुपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षकहरु टोप बहादुर खनाल बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्ष्यीत सुरक्षाको लागि खटिएका हुन् । सो टोली प्रदेशस्थित सम्बन्धित विभिन्न कार्यालय तथा व्यक्तिहरुसँग समन्वय राखी निर्वाचनमा परिचालीत सशस्त्र प्रहरी जनशक्तिलाई उच्च मनोबलकासाथ कार्यक्षेत्रमा खटाई आवश्यक निर्देशन दिनुको साथै कार्यक्षेत्रमा भईपरि आउने समस्या तथा चुनौतीहरुलाई पन्छाउँदै शान्तिपूर्वक निर्वाचन सम्पन्न गरि फिर्ता हुनेछन् ।
2079-01-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको संक्षिप्त जीवनी
उहाँ पिता दामोदर प्रसाद अर्याल र माता शारदा अर्यालको कोखबाट वि.सं. २०३१ साल मंसीर २३ गते जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएको हो । काठमाडौ जिल्लाको गोलढुंगा ३ स्थायी बसोवास गरिहरनु भएका उहाँले त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानवीय कानून विषयमा पोष्ट ग्राजुएट डिप्लोमा उत्तिर्ण गर्नुभएको छ । बि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक अर्याल वि.सं. २०५८ साल जेष्ठ ८ गते सशस्त्र प्रहरी बलतर्फ स्थानान्तरण हुनुभएको थियो । उहाँले स्वदेश तथा विदेशमा गरी १५ भन्दा बढि पेशागत तथा व्यावसायिक तालिम हासिल गर्नुकासाथै अमेरिका, जर्मनी, ईटाली, चीन, श्रीलंका लगायत विभिन्न अफ्रिकी मुलुकहरु समेत भ्रमण गर्नुभएको छ । महानिरीक्षक अर्याल सुकीर्तिमय राष्ट्रदीप, सुप्रबल जनसेवाश्री, गोर्खा दक्षिणबाहु चौथा, लगायत विभिन्न ८ भन्दा बढि विभुषण, मानपदवी, पदक तथा अलंकारहरुबाट विभूषित हुनुहुन्छ । उहाँले स्वदेश तथा विदेशमा सेवारत रहँदा उत्कृष्ट कार्यसम्पादन गरेवापत विभिन्न पुरस्कार तथा प्रशंसापत्र प्राप्त गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय कार्य तथा सीमा सुरक्षा विभाग, सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ र नम्बर ९ बाहिनी मुख्यालय, तालिम केन्द्रहरु, गण तथा गुल्म लगायत १० भन्दा बढि ईकाइहरुको प्रमुखको रुपमा जिम्मेवारी बहन गर्नुकासाथै सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्दै विशिष्ट कार्य अनुभव हासिल गर्नुभएको छ ।
2079-01-19
APF News
महानिरीक्षक अर्यालबाट पदवहाली तथा सकल दर्जालाई निर्देशन सम्बोधन
दर्ज्यानी चिन्ह सुशोभन पश्चात नवनियुक्त संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल, नेपालको इष्टदेवी बगलामुखीमाईको पुजा अर्चना गर्नुभई पशुपतिनाथ मन्दिरमा दर्शन पश्चात सोमबार नै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पदवहाली गर्नुभयो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोकस्थित अमर सशस्त्र प्रहरी स्मारकमा रिथ अर्पण गर्नुभयो । त्यसअघि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सम्मान गारद सलामी अर्पण गरेको थियो । महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा सशस्त्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, मिशन लगायतका कार्यहरु बैज्ञानीक र पारदर्शी ढंगले अगाडी बढाउने बताउनुहुँदै संगठनको विकास र बिस्तारमा समेत विशेष ध्यान पुर्‍याईने बताउनुभयो । उहाँले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाईएमा त्यस्ता कर्मचारीहरुलाई कुनै पनि हालतमा नछाडीने बताउनुहुँदै कमाण्डर तहका अधिकृतहरुलाई कार्ययोजनाका साथ मातहत कर्मचारीहरुलाई उच्च मोरालमा राखी परिचालित गरि नियमित अनुगमन गर्न समेत निर्देशन दिनुभयो । महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु एकजुट भई सामुहिक भावनकासाथ लाग्नुपर्ने बताउनुहुँदै संगठनबाट के लिन सक्छु भन्दा पनि संगठनलाई के दिनसक्छु भन्ने भावनाकासाथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले वान जनरल वान कन्सेफ्टको नीति लागू गरी संगठनलाई अगाडी बढाईने उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुको हितका लागि मौजुदा कल्याणकारी कार्यहरुलाई समेत समय सापेक्ष परिमार्जन गर्दै बृहत हितका लागि योजनाकासाथ काम गर्ने बताउनुभयो । महानिरीक्षक अर्यालले आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनमा सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुहुँदै सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा खटिदा सभ्य र अनुशासित भई जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन निर्देशन दिनुभयो । सो समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
2079-01-19
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट ‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’ समुद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा हालै स्थापना गरिएको ‘सशस्त्र प्रहरी बल, नेपालको संग्रालय’को बैशाख १८ गते सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले एक समारोहका बीच समुद्घाटन गर्नुभएको छ । उहाँले द्वन्दकालिन अवस्थामा स्थापना भएको सशस्त्र प्रहरी बलले तत्कालिन अवस्थामा राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा सुरक्षामा पुर्‍याएको योगदान तथा विगतमा संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठ लगायत ३ सय २० जना अमर सशस्त्र प्रहरीहरुले प्रदर्शन गर्नुुभएको बहादुरीको गाथा तथा सो सम्बन्धि विभिन्न अभिलेखहरु जीवन्त तुल्याउन यस संग्रालय स्थापना गरिएको उल्लेख गर्नुभयो । उहाँले उक्त संग्रालय स्थापनामा महत्वपूर्ण योगदान पु¥याउनुहुने विभिन्न महानुभावहरुलाई समेत त्यसैअवसरमा प्रशंसापत्र प्रदान गर्नुभयो । स्थापनाको छोटो समयमै राष्ट्रको अभिन्न सुरक्षा निकायको रुपमा स्थापित सशस्त्र प्रहरी बल नेपालबारे आगामी पीडिहरुले उक्त संग्रालय मार्फत सशस्त्र प्रहरी बल नेपालको बहादुरीको ईतिहास लगायत विविध पक्षहरुबारे जानकारी हासिल गर्ने विश्वास लिइएको छ । उक्त समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल, नेपालको संचार मार्फत सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण ईकाइहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरुका साथै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल तथा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2079-01-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलको फौजी परम्परा अनुसार स–सम्मान बिदाई
काठमाडौं, यहि बैशाख १९ गतेदेखि सेवानिबृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई फौजी परम्परा अनुसार स-सम्मान बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १८ गते आयोजित विशेष समारोहका बीच उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले फुलमालाका साथ मायाको चिनो प्रदान गर्नुहुँदै हार्दिक बिदाई गर्नुभएको हो । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.लाई सो संघकी उपाध्यक्ष श्रीमती अनिता अर्यालले फुलमालासहित हार्दिक बिदाई गर्नुभयो । त्यसैअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई संगठनको सम्पूर्ण जिम्मेवारी बर-बुझारथ गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । समारोहमा सम्बोधनको क्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्यालले उहाँहरुले सशस्त्र प्रहरी बल नेपालमा ३० बर्षसम्म सेवारत रहेर राष्ट्रको सुरक्षा आम नागरिकको सेवा र सांगठनिक विकासमा पु¥याउनु भएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुहँुदै उहाँहरुको आगामी जीवन सुखमय रहोस् भनि हार्दिक शुभकामना व्यक्त गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी. र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको सम्मानमा सशस्त्र प्रहरी बल नेपालको एक टोलीले सलामी अर्पण गरेको थियो । उक्त विदाई समारोह लाईभ भिडियो स्ट्रिमिङ्ग तथा सशस्त्र प्रहरी बल नेपालको संचार मार्फत सम्पूर्ण इकाईहरुमा हेर्ने र सुन्ने व्यवस्था मिलाईएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुका साथै सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु लगायत सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
2079-01-18
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट नेपाल एपीएफ कोभिड–१९ यूनिफाईड अस्पताललाई सहयोग पुर्‍याउनुहुने विभिन्न महानुभावहरुलाई प्रशंसापत्र प्रदान
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले नेपाल एपीएफ अस्पताललाई नेपाल सरकारले कोभिड-१९ यूनिफाईड अस्पताल घोषणा गरेपश्चात अस्पताल संचालनको लागि योगदान पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई प्रशंसापत्र प्रदान गनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले नेपाल एपीएफ अस्पतालमा बैशाख १५ गते आयोजित एक कार्यक्रमका वीच कोभिड-१९ महामारीको बेला नेपाल एपीएफ अस्पताल व्यवस्थापन तथा संचालनमा सहयोग पुर्‍याउने सुरक्षा निकाय तथा सरकारी अस्पतालका गरी २१ जना महानुभावहरुलाई उहाँहरुको योगदानको उच्च कदर गर्दै प्रशंसापत्र प्रदान गर्नुभएको हो । त्यसअवसरमा उहाँले कोभिड-१९ महामारीको बेला आई परेका विभिन्न चुनौतिहरुलाई सामना गर्दै आफ्नो र परिवारको स्वास्थ्यलाई समेत प्रवाह नगरी संक्रमित बिरामीहरुको सेवा र सुरक्षामा निःस्वार्थ रुपले लगनशिल र निडर भई अहोरात्र बिरामीको सेवामा खटिनुभएका स्वास्थ्यकर्मीहरुको योगदानको मुक्तकण्ठले प्रशंसा गनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा महामारीको बेला उच्चस्तरीय स्वास्थ्य सेवा प्रवाहमा नेपाल एपीएफ अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले पुर्‍याएको योगदान तथा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले कोभिड-१९ महामारी नियन्त्रणमा सीमा नाका तथा क्वारेन्टाईनहरुमा खटिई पुर्‍याएको योगदानप्रति हार्दिक आभार प्रकट गर्नुहुँदै भबिष्यमा समेत यस्तै उदाहरणीय कार्यसम्पादनमा क्रियाशिल रहने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु, विभिन्न सुरक्षा निकाय तथा सरकारी अस्पतालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2079-01-15
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान
काठमाडौ, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १५ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएका ७२ जना अधिकृतहरुलाई उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नुभयो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले पदोन्नती हुनुभएका सशस्त्र प्रहरी नायव उपरीक्षकहरुलाई हार्दिक बधाई तथा कार्य सफलताको शुभकामना दिनुहुँदै संगठनमा रहेर उहाँहरुले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मुल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको बताउनुभयो । उहाँले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढि क्रियाशिल भई कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहँुदै कमाण्डर तहका अधिकृतहरुले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहि मार्गनिर्देशन दिदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । महानिरीक्षक के.सी.ले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै जिम्मेवारीका क्षेत्रहरुमा परिचालन हुँदा अझै बढि अनुशासित, लगनशिल र ईमान्दारितापूर्वक राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध भई क्रियाशिल रहन निर्देशन दिनुभयो । नेपाल सरकार गृहमन्त्रालय सचिवस्तरको बैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहका ८७ जना, साधारण समूह लेखा उप-समूहका १० जना, साधारण समूह कानून उप-समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरु सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्धय रामशरण पौडेल र राजु अर्याल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2079-01-15
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएका राजु अर्याललाई बैशाख १४ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहका बीच उल्लेखित दर्जाको दर्ज्यानीचिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार मन्त्रिपरिषद्को यही बैशाख १३ गतेको निर्णयले उहाँ सशस्त्र प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । महानिरीक्षक के.सी.ले समारोहमा सम्बोधनको क्रममा पदोन्नती हुनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिनुहुँदै उहाँले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा सृजनशिल, चेतनशिल रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक बिकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्नुहुँदै उहाँलाई कार्य सफलताको समेत शुभकामना व्यक्त गर्नुभयो । उहाँले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्नुहुँदै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुले निःस्वार्थ भावनाकासाथ फौजी संकार र पद्धतीको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीहरुलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य पद्धती अपनाई कार्यसम्पादनमा क्रियाशिल रहनु पर्नेमा जोड दिनुहुँदै शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् उद्वार लगायतका सांगठनिक जिम्मेवारीहरुमा खरो रुपमा उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिनुभयो । सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती के.सी.ले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती अनिता अर्याललाई फुलमालाकासाथ हार्दिक बधाई दिनुहुँदै सो संघमा स्वागत गर्नुभएको हो । वि.सं. २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गर्नुभएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर हुनुभएको थियो । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
2079-01-14
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट एफपीयू मिशन टोलीको स्वागत
काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा) मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको टोलीलाई बैशाख १४ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलमा आयोजित एक समारोह बीच हार्दिक स्वागत गर्नुभयो । त्यसअवसरमा उहाँले द्वन्दग्रस्त मुलुकमा खटिएर विश्व शान्ति स्थापना गर्ने जस्तो विशेष जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश र्फिर्कएकोमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै मिसनमा कार्यरत रहँदा उहाँहरुले आर्जन गरेको ज्ञान, कला र सिपलाई स्वदेशमा समेत उपयोग गर्नुपर्नेमा जोड दिनुुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघीय मिशनमा सेवा गर्न पाउनु विशेष अवसरको रुपमा रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरु हरहमेसा राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा फौजी अनुशासनमा रहेर सामुहिक भावनकासाथ आ-आफ्नो जिम्मेवारी निर्वाहमा सदैव कृयाशिल रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठगुन्नाको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरु गरी कूल १ सय ६२ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशिराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2079-01-14
APF News
सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी बचत खाता तथा सरल कर्जा सुविधा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच सशस्त्र प्रहरी कर्मचारीहरुको हित तथा सुविधाका लागि तलबी बचत खाता संचालन तथा कर्जा लगायतका विविध बैंकीङ्ग सुविधा प्रदान गर्ने गरी सम्झौता भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्य तथा सो बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको उपस्थितीमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बैशाख १४ गते आयोजित एक समारोहका वीच सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले सो सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । त्यसअवसरमा महानिरीक्षक के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गर्नुहुँदै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा प्राप्त गर्ने बताउनुभयो । उहाँले राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रदान गरिने सेवा तथा सुविधा वितरणमा उक्त बैंकले पु¥याउने सहयोगप्रती हार्दिक आभार प्रकट गर्नुहुँदै सो सुविधाले सकल दर्जाका कर्मचारीहरुको हौसला अभिबृद्धि भई राज्यप्रदत्त जिम्मेवारीहरुमा अझ कटिबद्ध भई क्रियाशिल रहन उर्जा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.को अध्यक्षतामा यही बैशाख १३ गते बसेको परामर्श समितिको बैठकले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सहुलियतमा कर्जा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय वाणिज्य बैंकसँग पारस्परिक सम्झौता गर्ने निर्णय गर्नुकासाथै सशस्त्र प्रहरी कर्मचारीहरुलाई आवश्यकतानुसार मनोवैज्ञानिक परामर्श सेवा प्रदान गर्नको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मनौवैज्ञानिक परामर्श सेलको स्थापना गर्ने तथा आगामी दिनमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, वाहिनी मुख्यालयहरु, नेपाल एपीएफ अस्पताल, तालिम शिक्षालयहरु र नेपाल एपीएफ स्कूलहरुमा समेत क्रमश सो सेल विस्तार गर्ने निर्णय भएको हो । कार्यक्रममा सो बैंकका कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको विविध पक्षबारे जानकारी गराउनुहुँदै सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको उल्लेख गर्नुहुँदै सो बैंक करीव ५५ वर्षदेखि नागरिकको सेवामा समर्पित रहेको बताउनुभयो । सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने नेपाल सरकारको नीति अनुरुप भएको सो सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम १५ लाख सम्मको ऋण सुविधा पाउनुकासाथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरु तथा सो बैंकका बरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।
2079-01-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक के.सी.बाट सशस्त्र प्रहरी निरीक्षक आधारभूततालिमको प्रथम प्रवचन
काठमाडौँ, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालन हुने सि.सं. १५ सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको प्रथम प्रवचन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले सोही प्रतिष्ठानमा बैशाख ९ गते आयोजित एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरीे उक्त तालिमको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै संगठनलाई राज्यबाट प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा पूर्ण व्यवसायिक भई चुस्त र दुरुस्त कार्यसम्पादन गर्नको लागि तालिम अपरिहार्य रहेको चर्चा गर्नुहुदै तालिमले शारिरीक र मानसिक विकास गर्नुका साथै अधिकृत तथा जवानहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले तालिमलाई प्रशिक्षक तथा प्रशिक्षार्थीहरुले सिकाउने र सिक्ने मौकाको रुपमा लिनुपर्ने बताउनुहुँदै प्रशिक्षार्थी अधिकृतहरुलाई अनुशासित र लगनशिल भई तालिमबाट बढि भन्दा बढि ज्ञान आर्जन गर्नेतर्फ अग्रसर रहन निर्देशन दिनुभयो । महानिरीक्षक के.सी.ले चेन अफ कमाण्ड फौजी संगठनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तीका लागि संगठनमा आवद्ध राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निःस्वार्थ भावनकासाथ ईमान्दारीतापूर्वक कार्यक्षेत्रमा परिचालित भई राष्ट्रको सुरक्षा, आम नागरिकको सेवा, सीमा सुरक्षा, लगायतका विविध जिम्मेवारीका क्षेत्रहरुमा आ-आफ्नो तहबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेललाई सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले प्रतिष्ठानको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । ५६ हप्ता अवधिको उक्त आधारभूत तालिममा ५ जना महिला तथा ४३ जना पुरुष गरी कुल ४८ जना नवनियुक्त सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । सो समारोहमा सशस्त्र प्रहरी निरिक्षक बिकास अधिकारीले उक्त तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । समारोहमा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरु लगायत बिल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।
2079-01-09
APF News
महानिरीक्षक के.सी.बाट शान्ति स्थापनार्थ साउथ सुडानतर्फ खटिई जान लागेका एपीएफ टोलीको बिदाई
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक बिदाई गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक के.सी.ले सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ एफ.पी.यू मिशनमा जाने राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गर्नुभयो । महानिरीक्षक के.सी.ले सो टोलीलाई संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय तथा सहकार्य गरी मानवअधिकारको उच्च सम्मान गर्दै कुनै पनि जातजाती, भाषा, धर्म र लिङ्ग नभनी विश्व शान्ति स्थापनाको कार्यमा आ-आफ्नो ज्ञान, सिप र क्षमताको उच्चतम प्रयोग गर्दै उत्कृष्ट कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । उहाँहरुलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुले समेत खादा ओढाई शुभकामना सहित हार्दिक बिदाई गर्नुभएको हो । कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश थापाको कमाण्डमा १६ जना सिनियर अधिकृत, ३९ जना जुनियर अधिकृत र विल्लादार जवानहरु गरी १८० जना सशस्त्र प्रहरी कर्मचारीहरु बैशाख १२ गते साँझ त्यसतर्फ प्रस्थान गर्नेछन् ।
2079-01-09