Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामानसहित पक्राउ

रुपन्देही, 
    रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ वेलहिया ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले करीब १ लाख ४८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामानसहित एक जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेमा भारतको महाराजगंज २७ जगनाथपुर घर बताउने २३ बर्षिय ममताज कुरैसी छन् ।  
    अवैध रुपले भन्साल छली ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लेडिज जुत्तासहित उनलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    पक्राउ परेका निज कुरैसीलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2075-12-25
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट सशस्त्र प्रहरी जवान आधारभूत तालिम समापन

काठमाडौं,
    सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हे.क्वा. (बिशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २२६ (ड) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले आईतबार सोही गणमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । 
त्यस अवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी जवान भक्तबहादुर पेग्नी, शारीरिक सहिष्णुतातर्फ प्रथम हुन सफल सशस्त्र प्रहरी जवान जगत बहादुर बगाले, चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान किरण तामाङ र कवाजतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान दिवस तामाङलाई पुरस्कार समेत प्रदान गर्नुभयो । 
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा सशस्त्र प्रहरी बल, नेपालमा नव प्रवेशी प्रशिक्षार्थी जवानहरुले लामो समयको कठिन तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक बधाई दिनुहुँदै उहाँहरुलाई कार्यक्षेत्रमा सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
उहाँले आधारभूत तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशलले प्रशिक्षार्थीहरुको व्यावसायीक दक्षतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा गएपछि आईपर्ने विभिन्न जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सशस्त्र प्रहरी बल, नेपाल राष्ट्रको एउटा महत्वपूर्ण सुरक्षा निकायको रुपमा रहेको चर्चा गर्नुहुँदै राज्य प्रदत्त जिम्मेवारी निर्वाहको क्रममा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सीमा अपराध नियन्त्रण, विपद् प्रकोपमा उद्धार, राजश्व चुहावट नियन्त्रण लगाएतका विभिन्न जिम्मेवारीहरुमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको चर्चा गर्नुभयो । 
उहाँले राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा ईमान्दारिकासाथ कटिबद्ध रहन दिक्षित सशस्त्र प्रहरी जवानहरुलाई निर्देशन समेत दिनुभयो ।
कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रत्न पोख्रेलले धन्यवाद ज्ञापनको क्रममा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी तालिमलाई समयानुकुल व्यवहारिक एवं बैज्ञानीक ढंगले संचालन गरिएको बताउनुभयो । 
तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक रामहरी अधिकारीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुहुँदै करीब नौ महिना अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाइ ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, हुल तथा दंगा व्यवस्थापन, हतियार ह्याण्डलिङ, युद्धकला लगायतका विविध विषयहरुमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको बताउनुभयो । 
उक्त तालिममा १ सय २९ जना प्रशिक्षार्थी सशस्त्र प्रहरी जवानहरुले सफलतापूर्वक तालिम सम्पन्न गरेका छन् । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका अधिकृतहरुका साथै स्थानीय भद्रभलादमी तथा प्रशिक्षार्थीहरुका अभिभावकवर्गको उपस्थिति रहेको थियो । 
 

2075-12-24
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोलसहित पक्राउ

सप्तरी, 
    सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ३ गोबिन्दपुरस्थित सीमा ईलाकाबाट एपीएफ टोलीले एउटा कुटवा पेस्तोलसहित एक जनलाई चैत्र २२ गते पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा भारतको जिल्ला सुपौल डगमारा ग्राम १२ घर बताउने २३ बर्षिय रमेश कुमार मण्डल छन् । 
    उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रबहादुर थापाको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
    भारततर्फ पैदल जाँदै गरेका निज मण्डललाई शंका लागि जाँच गर्दा उनको साथमा उक्त पेस्तोल फेला परेपछि पक्राउ गरिएको हो ।

2075-12-22
APF News
एपीएफ टोलीद्वारा २ सय ९९ टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण

बारा, 
    भिषण हावाहुरीबाट पीडित बारा जिल्लाको फेटा गाँउपालिकास्थित विभिन्न ठाउँका पीडित परिवारलाई तत्काल बस्ने व्यवस्थाका लागि एपीएफ टोलीले त्यसठाउँमा २ सय ९९ वटा टेण्ट लगाउनुका साथै १ सय ६८ वटा त्रिपाल बितरण गरेको छ । 
    सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा बारा नम्बर १२ गणबाट खटिएको एपीएफ टोलीले सो गाँउपालिकाको विभिन्न ठाउँमा टेण्ट लगाउनुका साथै त्रिपाल बितरण गरेर पीडित परिवारलाई अस्थाई बसोबासको व्यवस्था मिलाएको हो । 
    त्यसठाउँमा भिषण हावाहुरीबाट क्षति पुगे लगत्तै एपीएफ टोली उद्धार तथा राहत कार्यमा सकृयताका साथ जुटेको छ ।

2075-12-21
APF News
एपीएफ टोलीद्वारा उद्धार तथा राहत कार्य

बारा,
        बारा जिल्लाको फेटा गाँउपालिका ६ स्थित पुरैनिया गाउँमा भिषण
हावाहुरीबाट भएको क्षतिग्रस्त स्थानमा एपीएफ टोली उद्धार तथा राहत
कार्यमा सकृयताका साथ जुटेको छ ।
एपीएफ टोलीले मंगलबार त्यसठाउँमा करीब ५० वटा पाल टाँगेर पीडितहरुका लागि
अस्थायी बसोबासको व्यवस्था समेत मिलाएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा चितवन नम्बर १७ गणबाट १ सय ५० थान
टेण्ट र त्रिपाल एक सय थानसहित उक्त स्थानमा खटिएको एपीएफ टोलीले पिडीत
स्थानीय बासिन्दाहरुको लागि अस्थाई बसोबासको व्यवस्था मिलाएको हो ।
        सो ईलाकामा राहत बितरण तथा उद्धार कार्यमा खटिएको एपीएफ टोली उद्धार
लगाएत टेण्ट तथा त्रिपाल बितरण कार्यमा सकृयताका साथ जुटिरहेको छ ।
        उद्धार तथा राहत कार्यमा सो गणको एपीएफ टोलीसँगै सशस्त्र प्रहरी बल,
नेपाल गण हेक्वा बारा नम्बर १२ गण तथा विभिन्न एपीएफ एकाईबाट खटिएको टोली
सकृयताका साथ जुटेको छ ।

2075-12-20
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिताको समापन तथा पुरस्कार वितरण

काठमाडौं,

            सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल एपीएफ क्लवको आयोजनामा यही चैत्र १० गतेबाट संचालित ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को चैत्र १५ गते समापन गर्नुभयो ।

            सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित प्रतियोगिताको समापन समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विजयी टिम तथा खेलाडीहरुलाई शिल्ड, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

            सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रतियोगिता संचालनमा सहयोग पुर्याउनुहुने विभिन्न संघ संस्था, रेफ्री तथा अफिसियलहरुलाई समेत प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुभयो ।

सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले महिला भलिबल खेलतर्फ सर्वोत्कृष्ट हुने नेपाल एपीएफ क्लवका महिला भलिबल टिमकी रेश्मा भण्डारीलाई स्कुटर प्रदान गर्नुभयो । 

समारोहमा पूर्व सशस्त्र प्रहरी महानिरीक्षकहरु सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ तथा सशस्त्र प्रहरी परिवार महिला संघकी पूर्व अध्यक्ष श्रीमती कल्पना थापा लगायत नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन शर्मा, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, अग्नि ईन्कर्पोरेट प्रा.लि. महिन्द्राका कार्यकारी निर्देशक अर्जुन शर्मा, कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठानका अध्यक्ष गोविन्ददास श्रेष्ठ लगायतका महानुभावहरुले प्रतियोगिताका विभिन्न इभेन्ट्सहरुमा विजयी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

            सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले निरन्तर रुपमा राष्ट्रियस्तरका यस्ता प्रतियोगिताहरु संचालन गरी राष्ट्रको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै नेपाल एपीएफ क्लवका खेलाडीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक समेत प्राप्त गरी संगठन र राष्ट्रको नाम चिनाउन सफल भएको बताउनुभयो ।  

            उहाँले प्रतियोगिता सफल रुपमा सम्पन्न गर्न सहयोग पुर्याउने विभिन्न खेलकुद संघ संस्था, प्रशिक्षक, अफिसियल तथा महानुभावहरुप्रति आभार प्रकट गर्नुहुँदै यस्ता प्रतियोगिताबाट क्षमतावान खेलाडीहरुको पहिचान हुनुकासाथै भोलीका दिनमा खेल क्षेत्रमा नवप्रतिभाहरुको आगमन हुने विश्वास व्यक्त गर्नुभयो ।

            शुक्रबार सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामीले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१२, १८–२१ र २१–१४ ले तथा महिला एकलतर्फको फाईनल खेलमा त्रिभुवन आर्मी क्लवकी रसिला महर्जनले नेपाल एपीएफ क्लवकी जेसिका गुरुङ्गलाई २१–१४, १३–२१ र २१–१८ ले पराजित गरी उपाधि हात पारेका छन् । 

            यसैगरी आजै सम्पन्न लनटेनिस प्रतियोगिताको पुरुष एकलतर्फको फाइनल खेलमा नेपाल एपीएफ क्लवका इभानोई लिसानोवीकले डेनमार्कका निकोलाई रास्त्रुपलाई ७–६ र ६–२ ले पराजित गरी उपाधि हात पार्न सफल भएका छन् ।         

            यसैगरी आजै सम्पन्न लनटेनिस प्रतियोगिताको महिला एकलतर्फको फाइनल खेलमा सुनसरीकी प्रेरणा कोईरालाले पोखराकी गंगा शर्मालाई ६–३ र ६–३ ले पराजित गरी उपाधि हात पारेकी छिन् ।

            यसैगरी ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को उपाधि नेपाल एपीएफ क्लबले जितेको छ ।   

           सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल एपीएफ क्लबले हंगवान्जि न्यू डाईमण्ड एकेडेमीलाई २५–१२, २५–११ र २५–११ को सोझो सेटमा पराजित गरी उपाधि हात पार्न सफल भएको हो ।

            यसैगरी प्रतियोगितामा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवलाई २५–१८, १७–२५, १३–२५, २५–२३ र १५–१३ गरी ३–२ को सेटले पराजित गरी तेस्र्रो स्थान हासिल गरेको छ ।

            प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले एक लाख २५ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

           सो प्रतियोगितामा नेपाल एपीएफ क्लवकी नेविका चौधरी उत्कृष्ट स्पाइकर, हंगवान्जि न्यू डाईमण्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट सर्भर, नेपाल एपीएफ क्लवकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स, नेपाल एपीएफ क्लवकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, सोही क्लवकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, उदयमान खेलाडीतर्फ नेपाल एपीएफ क्लवकी पुजा चौधरी र नेपाल एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन् । उनीहरुले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । 

            चार लाख ५५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको सो प्रतियोगिता लिगकम नकआउटको आधारमा संचालन भएको थियो । प्रतियोगितामा आयोजक नेपाल एपीएफ क्लवसहित त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस क्लव, हंगवान्जि न्यू डाईमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र ढोरपाटन ट्रेनिंग सेन्टर गरी कूल ६ वटा महिला भलिबल टिमको सहभागिता रहेको थियो ।

यसैगरी सात लाख १० हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको व्याडमिन्टन प्रतियोगितामा नौ वटा इभेन्ट्स तथा पाँच लाख ९५ हजार रुपैयाँ कूल पुरस्कार राशी रहेको लनटेनिस प्रतियोगितामा १३ वटा इभेन्ट्सका खेलहरु संचालन भएको थियो ।

            व्याडमिन्टनतर्फ पुरुष एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो  हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले २५  हजार रुपैयाँ तथा क्वाटरफाइनलमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला एकलमा प्रथम हुनेले ५० हजार रुपैयाँ, दोस्रो  हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार  रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् त्यसैगरी पुरुष युगलमा प्रथम पुरस्कार ६० हजार रुपैयाँ, द्वितिय पुरस्कार ३० हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार  रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।

            यसैगरी महिला युगलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितिय हुनेले २५ हजार रुपैयाँ र तेस्रो हुनेले साँढे १२ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन्  ।

            यसैगरी लनटेनिसतर्फ पुरुष एकलमा प्र्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ,  तेस्रो हुनेले १०/१० हजार रुपैयाँ र क्वाटरफाइनमा पुग्ने प्रत्येकले ५ हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् त्यसैगरी महिला एकलमा प्रथम हुनेले ६० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् । 

            लनटेनिसतर्फकै पुरुष युगलमा प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितिय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् भने महिला युगलतर्फ प्रथम हुनेले ४० हजार रुपैयाँ, द्वितिय हुनेले २० हजार रुपैयाँ र तृतीय हुनेले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

            प्रतियोगिताका खेलहरु सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित एपीएफ क्लब हल, लनटेनिस कोर्ट, भलिबल कोर्ट र दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा संचालन भएका थिए ।

2075-12-15
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको कपडासहित दुई जना पक्राउ

कैलाली,
    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित शान्तिनगर ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले चोरीपैठारीको लेडिज कपडासहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षिया दुर्गा सार्की र २४ वर्षिया गौरी थेकर छन् ।
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
    भारतबाट अवैध रुपले अटो रिक्सामा राखी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा एपीएफ टोलीले उनीहरुलाई उक्त कपडासहित पक्राउ गरेको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद कपडा तथा अटो रिक्सासहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । बरामद कपडा तथा अटो रिक्साको भन्सार दाखिला मुल्य १ लाख ८३ हजार रुपैयाँ रहेको छ ।       

2075-12-15
APF News
पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला ।

धादिङ,
    धादिङ जिल्लाको गल्छी गाउँपालिका २ बेलघारी स्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव चैत्र १४ गते एपीएफ टोलीले नदिबाट निकालेको छ ।
    चैत्र १३ गते त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने १८ वर्षिय रविन राई नदिमा डुवेर बेपत्ता भएका थिए ।
    सो घटनाबारे स्थानीय वासिन्दाले सशस्त्र प्रहरी बल, नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा जानकारी गराए पश्चात उक्त शिक्षालयबाट सशस्त्र प्रहरी निरीक्षक हेमन्त सिंहको कमाण्डमा गोताखोरसहितको टोली खटिई गई खोजतालस गर्ने क्रममा शव फेला पारेको हो । 
एपीएफ टोलीले निजको शव नदि बाहिर निकाली निजको आफन्तलाई बुझाएको छ । 
 

2075-12-15
APF News
कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको बुधबार सम्पन्न खेलहरु

काठमाडौं, 
    नेपाल एपीएफ क्लवको आयोजनामा संचालित ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को बुधबार विभिन्न इभेन्ट्सका खेलहरु सम्पन्न भएका छन् । 
    आजै सम्पन्न भएको लनटेनिस प्रतियोगिताको ६५ वर्षमाथि भेन्ट्रान्स तर्फको फाईनल खेलमा दिपक श्रेष्ठले ज्ञानेन्द्र ताम्राकारलाई ४–० र ४–० ले पराजित गरी विजयी भएका छन् । 
यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्सतर्फको फाईनल खेलमा कृष्णराज घलेले कमल थापालाई ६–४ र ६–१ ले पराजित गरि विजयी भएका छन् । 
यसैगरी ३५ वर्षमाथि भेन्ट्रान्स पुरुष एकलतर्फको फाईनल खेलमा राजु श्रेष्ठले महेश श्रेष्ठलाई ६–४ र ६–४ ले पराजित गरि विजयी भएका छन् । 
यसैगरी ४५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको सेमिफाइनल खेलमा विमल गुरुङ्गले गोपी भट्टराईलाई ६–२ र ७–६ ले तथा चन्द्र साईले सिजर गुरुङ्गलाई ६–१ र ६–० ले पराजित गरी फाईनलमा प्रवेश गरेका छन् ।
आजै सम्पन्न भएको लनटेनिस पुरुष युगलतर्फका खेलमा इभानोई लिसानोवीक र निकको जोडीले छेवाङ्ग लामा र नविन मगरको जोडीलाई ६–४ र ६–३ ले तथा कलम भण्डारी र प्रनव खनालको जोडीले अनिल साई र प्रदिप खड्काको जोडीलाई ७–५ र ६–४ ले पराजित गरी फाईनलमा प्रवेश गरेको छ । 
यसैगरी दशरथ रंगशालास्थित लनटेनिस कोर्टमा आजै सम्पन्न भएको ४५ वर्षमाथि युगलतर्फको खेलमा हेमचन्द्र गुरुङ्ग र धर्म साईको जोडीले प्रताप मोक्तान र सुवर्ण ढाक्वाको जोडीलाई ६–२ र ६–३ ले पराजित गरि सेमिफाईनलमा प्रवेश गरेको छ । 
यसैगरी ५५ वर्षमाथि भेन्ट्रान्स युगलतर्फको खेलमा ध्रुव गुरुङ्ग र मनोज राणाको जोडीले प्रेम थापा र फादर मेथ्युको जोडीलाई ६–२ र ६–४ ले, कृष्णराज घले र सुवर्ण ढाक्वाको जोडीले विष्णु गैरे र सहदेव ढुंगानाको जोडीलाई ६–३ र ६–२ ले, कर्मा घले र करिमूल्ला मुस्लीमको जोडीले केसङ लामा र कर्माटासी लामाको जोडीलाई ६–२ र ६–३ ले तथा दिपक श्रेष्ठ र अमृत कंंसाकारको जोडीले कमल थापा र छम्वा ढुंडुपको जोडीलाई ४–६, ६–३ र १०–७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 
    आजै सम्पन्न व्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फको क्वाटरफाईनल खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामीले सोही क्लवकै गौतमसिंह कठायतलाई २१–१४ र २१–१८ ले, त्रिभुवन आर्मी क्लवका प्रफुल महर्जनले नेपाल एपीएफ क्लवका सुदिप सेढाईलाई २१–१८ र २१–११ ले, सिल्क ग्रुपका प्रिन्स दाहालले नेपाल एपीएफ क्लवका सुनिल जोशीलाई २१–१५ र २१–१९ ले तथा नेपाल पुलिस क्लवका जीवन आचार्यले नेपाल एपीएफ क्लबका साजनकृष्ण ताम्राकारलाई २१–१८ र २१–१७ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् । 
यसैगरी व्याडमिन्टन प्रतियोगिताको अन्डर सेभेन्टिन गल्र्स सिंगलतर्फको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले जेष्ट ब्याडमिन्टन एकेडेमीकी अनुषा न्यौपानेलाई २१–६ र २१–५ ले, मोरङकी नीता लम्सालले मोरङकै रोज पाण्डेलाई २१–७ र २१–८ ले, मोरङकी सीमा राजबंशीले झापाकी अन्जना राईलाई २१–८ र २१–९ ले, त्रिभुवन आर्मी क्लबकी रञ्जना भट्टले वीरगंजकी स्मृती राईलाई २१–१३ र २१–१४ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 
यसैगरी व्याडमिन्टन प्रतियोगिताको अन्डर सेभेन्टिन ब्वाईज सिंगलमा सिल्क ग्रुपका प्रिन्स दाहालले महेन्द्रनगरका प्रकाश चन्दलाई २१–८ र २१–१० ले, नेपाल एपीएफ क्लवका प्रियान्सुसिंह क्षेत्रीले धनगढीका अमृत चौधरीलाई २१–१७ र २१–१२ ले, नेपाल एपीएफ क्लवका पेम्वा शेर्पाले मोरङ्गका उज्ज्वल पोखरेललाई २१–१४ र २१–१५ ले तथा त्रिभुवन आर्मी क्लवका दिवस शंकरले कञ्चनपुरका गोकुल जोरालाई २२–२० र २१–१३ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 


यसैगरी व्याडमिन्टन प्रतियोगिताको मिक्स युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामी र पुजा श्रेष्ठको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका अखिल श्रेष्ठ र डिना पुनको जोडीलाई २१–१७ र २१–७ ले, त्रिभुवन आर्मी क्लबका सुरोज महर्जन र अमिता गिरीको जोडीले नेपाल एपीएफ क्लबका निरबिक्रम देवकोटा र भोजपुरकी सीता राईको जोडीलाई २१–१९ र २१–१३ ले, नेपाल एपीएफ क्लबका बिजित थापामगर र शोभा गौचनको जोडीले त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र अनुमाया राईको जोडीलाई २१–१९ र २१–१८ ले पराजित गरेको छ भने नेपाल एपीएफ क्लबका गौतमसिंह कठायत र सुनैना मुखियाको जोडीले त्रिभुवन आर्मी क्लबका रुकेश महर्जन र रञ्जना भट्टको जोडीबाट वाक ओभर पाई सोमीफाइनलमा प्रवेश गरेको छ ।  
यसैगरी पुरुष युगलतर्फको खेलमा नेपाल एपीएफ क्लवका दिपेश धामी र विजित थापामगरको जोडीले नेपाल एपीएफ क्लवकै बिशाल प्रधान र बिमल श्रेष्ठको जोडीलाई २१–१३ र २१–१९ ले, नेपाल पुलिस क्लवका दिपक बोहोरा र जीवन आचार्यको जोडीले नेपाल एपीएफ क्लबका सुमन लिम्बु र जोसेफ अधिकारीको जोडीलाई २१–१२ र २१–९ ले, नेपाल एपीएफ क्लबका सुदिप सेढाई र साजनकृष्ण ताम्राकारको जोडीले नेपाल एपीएफ क्लबकै सुनिल जोशी र गौतमसिंह कठायतको जोडीलाई २१–१८ र २१–१८ ले तथा त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीले सिल्क ग्रुपका प्रिन्स दाहाल र नेपाल एपीएफ क्लबका नीरबिक्रम देवकोटाको जोडीलाई २१–१५ र २१–१६ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 
यसैगरी महिला एकतर्फको खेलमा त्रिभुवन आर्मी क्लबकी अमिता गिरीले मोरङकी सीमा राजबंशीलाई २१–१५ र २१–१९ ले तथा त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले त्रिभुवन आर्मी क्लबकै रञ्जना भट्टलाई २१–११ र २१–१५ ले पराजित गरी सेमीफाइनलमा प्रवेश गरेका छन् । 
    बुधबार सम्पन्न सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले ढोरपाटन ट्रेनिङ्ग सेन्टरलाई २५–१, २५–१० र २५–२ को सोझो सेटमा तथा हंगवान्जि न्यु डाईमण्ड एकेडेमीले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–१०, २५–५ र २५–७ को सोझो सेटमा पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको छ । 

2075-12-13
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
    बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित जैसपुरबाट चैत्र १० गते एपीएफ टोलीले करीव ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार सय ४५ थान मोवाईलमा प्रयोग हुने एन्टी रेडिएसन चिप्स बरामद गरेको छ ।
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा बाँके नम्बर ४० गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त सामान सोही ठाउँको भन्सार कार्यालयको नजिकैबाट बरामद गरेको हो ।
    त्यसवेला सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै सामान छाडी भागेका थिए ।
    एपीएफ टोलीले बरामद सामान आवश्यक करावाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 
    यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित भन्सारढाट ईलाकाबाट चैत्र ११ गते एपीएफ टोलीले २ लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको विभिन्न कम्पनीको औषधी र सात वटा ल्यापटप सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । 

2075-12-11
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन, सहवीर स्मृति खुल्ला लनटेनिस र राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिताको उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले नेपाल एपीएफ क्लवको आयोजनामा संचालन हुने ‘पन्ध्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७५’, ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ र ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को चैत्र १० गते उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आयोजित उद्घाटन समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्बन्धित खेलका मुख्य रेफ्रीहरुलाई बल तथा सटल कर्क हस्तान्तरण गरी प्रतियोगिताको सुभारम्भ गर्नुभएको हो । सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थापना काल सँगै नेपाल एपीएफ क्लवको स्थापना गरी राष्ट्रको खेलकुदको क्षेत्रमा योगदान पु¥याउँदै आइरहेको बताउनुभयो । उहाँले सशस्त्र प्रहरी बल, नेपालले विगत लामो समयदेखि ब्याडमिन्टन, लनटेनिस र महिला भलिबलमा राष्ट्रिय स्तरको प्रतियोगिता संचालन गर्दै आइरहेको उल्लेख गनुहुँदै यस्ता प्रतियोगिताले देशभर छरिएर रहेका खेलप्रतिभाहरुलाई एकिकृत गर्दै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्रतियोगिता अन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष एकलतर्फको खेलमा भोजबहादुर गुरुङ्ग, अनिष कटुवाल, गोकुल तामाङ, आशिष तामाङ, रोशन कुमाल, अमृत चौधरी, बिजय बानियाँ, गोकुल जोरा, अनिष खतिवडा, गोकुल तामाङ र प्रियान्सुसिंह क्षेत्री विजयी भएका छन् । यसैगरी आजै सम्पन्न लनटेनिस तर्फको खेलमा सुरजकुमार श्रेष्ठ, किरनजंग कुवँर, चन्द्र थापा, उत्तम बोगटी, केशर गुरुङ्ग, राम राणा, कृष्ण कार्की, कुमार तामाङ्ग, पल मार्टिन सोल, देव क्षेत्री, सुकमान तामाङ्, भीष्मजंग गुरुङ्ग, रोहित सुनुवार, काजीमान गुरुङ्ग, राजु श्रेष्ठ, सुबोध अधिकारी, मनोज शाह, सीमान्त गुरुङ्ग, गोपी भट्टराई, अमृत रोका, राजेश क्षेत्री, महेश श्रेष्ठ, ध्रुव गुरङ्ग, आशिष सिग्देल र करिमुल्ला मुस्लिम विजयी भएका छन् । सो समारोहमा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योती राणा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन शर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य ईन्दिरा निरौला लगायत विभिन्न खेलकुद संघसंस्थाका पदाधिकारी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।
2075-12-10
APF News
एपीएफ टोलीद्वारा आठ केजी चाँदीका गहनासहित पक्राउ
झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोली र भन्सार कार्यालयका कर्मचारीले चैत्र १० गते दिउँसो करीव आठ केजी चाँदीको गहनासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बंगालराज्य ज्याला जलपाईगुडी घर बताउने ३० वर्षिय मिठु सेन छन् । सशस्त्र प्रहरी सहायक निरीक्षक केदार श्रेष्ठको कमाण्डमा खटिएको एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखामा जाँच गर्दा उनको साथमा उक्त चाँदीको गहना भेटिएको थियो । उक्त गहना करीव ३ लाख ६४ हजार रुपैयाँ बराबरको रहेको छ । पक्राउ परेका निजलाई बरामद चाँदीका गहनासहित आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।
2075-12-10
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्स ट्रेन द ट्रेनर्स कोर्ष’ समापन
काठमाडौं, यूएन डिपीओ र सशस्त्र प्रहरी बल, नेपालको संयुक्त आयोजनामा संचालित ‘यूएन ईन्डिभिजुअल पुलिस अफिसर्ष ट्रेन द ट्रेनर्स कोर्ष’ समाप्त भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र १ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच उक्त तालिमको समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र यूएन डिपीओका ड्याग रोजर डाह्लेनले तालिमको समापन समारोहमा प्रशिक्षार्थी अधिकृतहरुलाई संयुक्त रुपमा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले विश्व शान्तिका लागि सयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर द्वण्द्वग्रस्त मुलुकहरुमा शान्ति सुरक्षा बहाली गर्ने कार्यमा नेपालका सुरक्षाकर्मीहरुले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहुँदै यस्ता प्रशिक्षणबाट प्राप्त ज्ञानले आगामी दिनहरुमा संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेर काम गर्नुपर्दा सहजता प्राप्त हुनुकासाथै सुरक्षाकर्मीहरुको व्यावसायिक दक्षतामा समेत अभिवृद्धि हुने बताउनुभयोे । उहाँले तालिमबाट प्राप्त ज्ञान तथा अनुभव कार्यक्षेत्रमा लागू गर्नुकासाथै आगामी दिनमा संयुक्त राष्ट्रसंघीय मिसनहरुमा सहभागीता जनाउने सुरक्षाकर्मीहरुलाई प्रशिक्षण प्रदान गर्न प्रशिक्षार्थी अधिकृतहरु सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफु मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै प्रभावकारी कार्यसम्पादनमा कृयाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले यस्ता तालिम संचालन गर्न सहयोग पु¥याएकोमा संयुक्त राष्ट्रसंघ प्रति आभार प्रकट गर्नुहुँदै आगामी दिनहरुमा समेत सहयोगको अपेक्षा गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले संयुक्त राष्ट्रसंघीय मिशनमा नेपालले महत्वपूर्ण योगदान पु¥याईरहेको चर्चा गर्नुहँुदै यस्ता तालिमले उत्कृष्ट प्रशिक्षक उत्पादनमा योगदान पु¥याएको उल्लेख गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिमबाट संयुक्त राष्ट्रसंघको म्याण्डेट लगायत विविध पक्षहरुको बारेमा महत्वपूर्ण ज्ञान हासिल गर्न सफल भएको विश्वास व्यक्त गर्नुभयो । यूएन डिपीओका ड्याग रोजर डाह्लेनले यस तालिमबाट शान्ति स्थापनार्थ विभिन्न मिसनमा खटिने सुरक्षाकर्मीलाई मिसनमा परिचालनपूर्व प्रि–डिप्लोयमेन्ट तालीम दिन सक्ने योग्य प्रशिक्षक उत्पादन गर्न तालीम सफल रहेको विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित दुई हप्ता अवधिको उक्त तालिममा सशस्त्र प्रहरी बल, नेपालका १८ जना अधिकृत तथा नेपाल प्रहरीका ६ जना अधिकृत गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2075-12-1
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट प्रशासनिक व्यवस्थापन तालिमको उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. ५ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फागुन ९ गते सोही प्रतिष्ठानमा आयोजिक एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रशासनिक कामकारवाहीहरु चुस्त, दुरुस्त र त्रुटिरहित ढंगबाट संचालन गर्नसक्ने व्यावसायिक अधिकृत उत्पादनको लागि यस्ता तालिम सहयोगी हुने बताउनुभयो । उहाँले संगठनको लक्ष्य प्राप्तीमा यस्ता व्यावसायिक तालिमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा समेत गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य तथा तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. प्रजाभक्त श्रेष्ठले कुनै पनि फौजी संगठनमा प्रशासनिक व्यवस्थापनको ठूलो महत्व रहने चर्चा गर्नुहुँदै चुस्त प्रशासन तथा सवल व्यवस्थापनका लागि यस्ता तालिम अपरिहार्य रहेको बताउनुभयो । एक महिना अवधिको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ७ जना तथा सशस्त्र प्रहरी निरीक्षक २२ जना गरी कूल २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
2075-11-9