सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाबाट तालिम समापन

06th August, 2017
सुर्खेत, मध्य पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय महेश्वरी बाहिनी सुर्खेतमा संचालित सि.सं. २२८ सीमा सुरक्षा तथा भन्सार गस्ती तालिम सम्पन्न भएको छ । उक्त तालिमको साउन २२ गते सो बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बसन्त कुमार बानियाले समापन गर्नुका साथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक बानियाले सो अवसरमा प्राप्त म्याण्डेट बमोजिमको जिम्मेवारीलाई व्यावसायिक तवरबाट पुरागर्न सधैं लागिरहनुपर्ने बताउनुभयो । उहाँले सीमा सुरक्षा, भन्सार गस्ती लगायतका विषयवस्तुमा आधारित यस्ता किसिमका उन्नत तालिमलाई महत्वपूर्ण मानिने चर्चा गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिममा सिकेको ज्ञान र सीपलाई कार्यक्षेत्रमा उपयोग गरी प्रभावकारी एवं त्रुटिरहित ढंगबाट पदीय दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक चन्द्रबहादुर रास्कोटीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत चैत्र ६ गतेबाट संचालित उक्त तालिममा कूल ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । प्रशिक्षार्थीहरु मध्ये सशस्त्र प्रहरी जवान नारायण चौधरीले सो तालिममा प्रथम स्थान हासिल गरेका छन् ।