सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठबाट विपद व्यवस्थापन तालिमको प्रथम प्रवचन

31st July, 2017
चितवन, सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा सि.सं. २४ विपद व्यवस्थापन तालिम संचालन भएको छ । उक्त तालिमको साउन १५ गते सशस्त्र प्रहरी नायव महानिरीक्षक कविन्द्रमान श्रेष्ठले एक कार्यक्रमका बीच प्रथम प्रवचन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सो अवसरमा विपद प्रकोपको दृष्टिकोणले जोखिमपूर्ण मानिने मुलुकमा विपद व्यवस्थापनको महत्वपूर्ण म्याण्डेट प्राप्त सशस्त्र प्रहरी बल नेपालले राज्यले सुम्पेको जिम्मेवारीलाई व्यावसायीक दक्षताका साथ निर्वाह गर्दै आएको चर्चा गर्नुभयो । उहाँले विपद व्यवस्थापनको कार्यमा तालिम प्राप्त दक्ष जनशक्ति कार्यक्षेत्रमा अझै प्रभावकारी एवं उपलब्धीमूलक कार्यसम्पादनमा दत्तचित्त भएर लाग्ने उल्लेख गर्नुभयो । कार्यक्रममा सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकीले धन्यवाद ज्ञापनको क्रममा विपद व्यवस्थापनको कार्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेर प्रशिक्षण संचालन गरिने बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक नरबहादुर रावतले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । तीन महिना अवधिको सो तालिममा सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृत, जुनियर अधिकृत, विल्लादार तथा जवान गरी कूल ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई मेडिकल फस्ट रेस्पोण्डर, खोजी तथा उद्धार, स्वीमिङ्ग, ¥याफ्टिङ्ग, ¥याप्लिङ्ग, क्लाइमिङ्ग, फायर फाइटिङ्ग, मोटरबोट, डेडबडी म्यानेजमेन्ट लगायतका विपद सम्बन्धी विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइने कुरा सो अवसरमा जानकारी गराइएको थियो ।