करीव ३० केजी चरेशसहित एपीएफ टोलीद्वारा ७ जना पक्राउ

19th July, 2017
मकवानपुर, मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १० बाट साउन ४ गते एपीएफ टोलीले करीव ३० केजी चरेशसहित ७ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल जिल्ला सुरक्षा वेस हेटौडाबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई सो ठाँउको एक होटलबाट उक्त चरेशसहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही जिल्लाको थाहा नगरपालिका ७ बस्ने बिक्रम स्याङतान, हिरा स्याङतान, रौतहटको बलरा गाँउपालिका ४ बस्ने सुरज पटेल, रौतहटकै राजपुर फरहदवा गाँउपालिका ८ बस्ने कालमा खातुन, भारतको लखनउ घर बताउने निरभय सिंह, रामगढवाका कलावतीदेवी साह र रक्सौलका मुकेश कुमार श्राव रहेका छन् । सो वेसबाट सशस्त्र प्रहरी नायव उपरीक्षक त्रिभुवन बिष्टको कमाण्डमा खटिएको एपीएफ टोलीले उनीहरुलाई विशेष सूचनाको आधारमा त्यसठाँउको एक होटलबाट उल्लेखित परिमाण बराबरको ३० पोका चरेशसहित पक्राउ गरेको हो । त्यसवेला निजहरुले प्रयोग गरेको युपी १८ एइ ७४०५ नम्बरको मारुती कार समेत एपीएफ टोलीले बरामद गरेको छ । उक्त चरेश नेपालबाट भारततर्फ लैजाने उद्देश्यले धादिङबाट ल्याइएको कुरा पक्राउ परेकाहरुले एपीएफ टोली समक्ष बताएका छन् । पक्राउ परेका सवैलाई बरामद चरेश र गाडीसहितै एपीएफ टोलीले आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।