आगलागी नियन्त्रणमा एपीएफ टोली सकृय

27th April, 2017
काठमाडौं, सुनसरी जिल्लाको हरिनगर ६ मा बैशाख १४ गते हरिश अन्सारीको गोठमा बालेको घुरबाट आगो सल्कन गई आगलागी भएको छ । उक्त गोठमा बालेको घुरबाट आगलागी हुँदा नजिकै रहेका घर तथा गोठहरु समेत जलेर क्षती भएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट घुस्कीबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी, तथा स्थानीय वासिन्दाले दमकलको सहयोगमा उक्त आगलागी नियन्त्रणमा ल्याएका छन् । आगलागीबाट करीव ६१ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । यसैगरी कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका ४ स्थित मैलावार गाउँमा बैशाख १३ गते आगलागी हुँदा करीव ३० वटा घरहरु जलेर नष्ट भएको छ । सो आगलागी सशस्त्र प्रहरी बल सुरक्षा वेश बिषनपुरबाट खटिएको एपीएफ टोली, स्थानीय प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । उक्त आगलागीबाट करीव ६१ लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ । यसैगरी रौतहट जिल्लाको गढीमाई गाउँपालिका १ स्थित सनमपुरमा बैशाख १३ गते भएको आगलागी एपीएफ टोली, स्थानीय प्रहरी तथा स्थानीय वासिन्दाको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । स्थानीय राम अयोर्धा साहको घरमा बालेको आगोबाट आगलागी हुँदा नजिकै रहेको रामसोगारथ साह र मंगल दासको घर समेत जलेर क्षती भएको छ । उक्त आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल सुरक्षा वेश समनपुरबाट खटिएको एपीएफ टोली सो ठाउँमा पुगी आगलागी नियन्त्रणमा सकृयताकासाथ जुटेको थियो । आगलागीबाट करीव १० लाख रुपैयाँ बराबरको धनमाल क्षती भएको बताइएको छ ।