एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

23rd April, 2017
महोत्तरी, भन्सार छली ल्याइएको करीव एक लाख रुपैयाँ बराबरको विभिन्न सामान सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बैशाख ९ गते बरामद गरेको छ । भारतीय नम्बर प्लेटको गाडीमा ल्याउँदै गरेको चोरीपैठारीको विभिन्न किसिमका कस्मेटिक सामान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका २ स्थित खैरा चोकबाट एपीएफ टोलीले बरामद गरेको हो । चोरीपैठारीको सामान लिएर आएको बीआर ७ जीए ४३६९ नम्बरको सो गाडी समेत एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामानसहितै उक्त गाडी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका १ स्थित बेलहियाबाट बैशाख १० गते एपीएफ टोलीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको करीव २२ हजार रुपैयाँ बराबरको उक्त कपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।