सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालबाट विपद् व्यवस्थापन तालिमको समापन

23rd February, 2017
चितवन, सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा संचालित सि.सं. २१ विपद व्यवस्थापन तालिमको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले समापन गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले त्यसअवसरमा तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र तथा डिजास्टर म्यानेजमेन्ट ट्रेनिङ (डिएमटी) को ट्याग प्रदान गर्नुभयो । सो अवसरमा उहाँले सशस्त्र प्रहरी बलको म्याण्डेटभित्र पर्ने विपद् व्यवस्थापनको जिम्मेवारीलाई व्यावसायीक दक्षताका साथ निर्वाह गर्दै आएको चर्चा गर्नुहुँदै तालिम प्राप्त दक्ष जनशक्ति अझै कौशलयुक्त भई सहास, हौसला र निष्ठाका साथ दायित्व निर्वाहमा कटिबद्ध रहने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सिप र कौशललाई कार्यक्षेत्रमा निरन्तर रुपमा उपयोग गर्दै अझै उत्कृष्ट ढंगबाट जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकको जीउ धनको रक्षा एवं आपद् विपद्मा परेका पीडितहरुको उद्धार र सहयोग गर्दै ज्यान जोगाउने कार्यमा प्रशिक्षार्थीहरुले तालिममा सिकेको व्यावशायीक कौशल अझै बढी उपयोग हुने चर्चा गर्नुहुँदै देश र जनताको सेवामा निःस्वार्थ भावनाले सधै वफादार रहन निर्देशन दिनुभयो । कार्यक्रममा सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजुराम सुवालले धन्यवाद ज्ञापनको क्रममा विपद् व्यवस्थापनको कार्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेर प्रशिक्षण संचालन गर्दै आएको बताउनुभयो । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी नायव उपरीक्षक नरबहादुर रावतले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । गत कार्तिक ३० गतेबाट संचालित सो तालिममा सशस्त्र प्रहरी बलका सिनियर अधिकृत, जुनियर अधिकृत तथा विल्लादार जवान गरी कूल ५० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए । प्रशिक्षार्थीहरु मध्ये सशस्त्र प्रहरी निरीक्षक नविन बुढाथोकी उत्कृष्ट प्रशिक्षार्थी ठहरिएका छन् । तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई मेडिकल फस्ट रेस्पोण्डर, खोजी तथा उद्धार, स्वीमिङ्ग,र्‍याफ्टिङ्ग, क्लाइमिङ्ग, फायर फाइटिङ्ग, मोटरबोट, डेडबडी म्यानेजमेन्ट लगायतका विपद सम्बन्धी विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक प्रशिक्षण दिइएको कुरा कार्यक्रममा जानकारी गराइएको थियो ।